काठमाडौँको न्यूनतम तापक्रम घट्यो, आज देशभरको कस्तो हुन्छ मौसम ?

सोमबार, पुस १५, २०८१

लगातार दुई दिन बढेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) भने घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे मापन हुन्छ, त्यतिबेला अझै घट्ने सम्भावना हुन्छ।  

गत शुक्रबार ४ डिग्री सेल्सियसस रहेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार ५.८ हुँदै हिजो आइतबार ६ डिग्री सेल्सियसमा उक्लिएको थियो।

राति आकाशमा बादल लाग्दा न्यूनतम तापक्रम बढ्छ भने मौसम सफा भएसँगै घट्छ। गएरातिदेखि मौसम सुधार भई आकाश उघ्रिएकाले आज बिहान न्यूनतम तापक्रम घटेको हो। 

यसैगरी दिउँसो मौसम सफा हुँदा दिनभर घाम लाग्न पाउने भएकाले आजदेखि अधिकतम तापक्रम बढ्ने सम्भावना देखिन्छ। 

मौसमविद् झाका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। ‘अहिले बिहान एकछिन हुस्सु लागे पनि दिउँसो मौसम राम्रो हुन्छ’, उनले भने।  

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्