मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले के-के गर्यो निर्णय ?

बिहीबार, पुस ११, २०८१

अस्ति मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहिबार उक्त जानकारी दिएका हुन्। 

राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो ।

बैठकले शिक्षक सेवा आयोगको एक जना महिलासहित दुई जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

यसैगरी सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रम सङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतका निकायको स्वीकृत दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गर्ने गरी पर्सा जिल्लाको पोखरिया, जुम्लाको सिंजा, नराकोट र कपिलवस्तु जिल्लाको बोडगाँउमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान दिने निर्णय गरेको छ ।

मन्त्री गुरुङले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्