सोसल मिडिया
युनिकोड
संघीय संसदअन्तर्गत आज पाँच वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने छ ।
त्यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयहरूमा छलफल हुनेछ ।
त्यसैगरी दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य/प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ ।
दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।