Dashain Banner
Dashain Banner

उडान अनुमति नलिई आएको थाई एयर एसियाको विमानलाई बर्साईयो डण्डा

आइतबार, कात्तिक ११, २०८१

उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो ।

करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार थाई एयर एसियाको उडान तत्कालका निम्ति निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

सूचना अधिकारी भुलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्र उडान अनुमति रहेको बताए । आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको उनले जानकारी दिए ।

“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,” उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।”

विशेष चार्टर्ड उडान अनुमति पाएको उक्त विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्कने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका निम्ति मात्र उडान अनुमति लिएको थियो ।

प्राधिकरणले आइतबार (आज)देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले सन् २०२४ अक्टोबर २७ देखि २०२५ मार्च ३१ सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गएको असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्