Dashain Banner
Dashain Banner

पाथिभरामा केबलकार बन्न नदिन निर्णायक आन्दोलन थालियो

आइतबार, भदौ २३, २०८१

आदिवासी लिम्बू समुदायको पवित्र मुन्धुमी थलो ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा)मा पटक–पटक भएका सहमतिलाई लत्याउँदै जर्वजस्ती केबलकार बनाउन खोजेको भन्दै आन्दोलनरत पक्षले निर्णायक ‘मुक्कुमलुङ छोड’ आन्दोलन सुरु गरेका छन् ।

पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्न इजाजत प्राप्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका प्रतिष्ठित व्यापारी चन्द्र ढकालको चन्दागिरी हिल्स लिमिटेड, काठमाडौंलाई ७ दिनभित्र मुक्कुमलुङ छोड्न पत्रकार सम्मेलनमार्फत अल्टिमेटम दिइएको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समुहका संयोजक नन्द कन्दङवा, प्रदेश नं. १ प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेन, प्रदेश नं. १ प्रदेश पुनःनामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङ र मुक्कुमलुङ तान्सेःप् चुम्भोको प्रतिनिधि सरस्वता सिङ्गक(सरु)द्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमार्फत अल्टिमेटम दिएका हुन् ।

उनीहरुले केबुलकार निर्माण कम्पनी फिर्ता नभएमा आगामी भदौ २४ गतेदेखि उक्त कम्पनीको केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि मुक्कुमलुङ जाने तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।

आदिवासी लिम्बू समुदायले पवित्र मुन्धुमी थलोका रुपमा हजारौं वर्षदेखि पुज्ने मुक्कुमलुङलाई पछिल्लो समयमा राज्यसत्ता र शक्तिको आडमा हिन्दूकरण गरि पाथिभरा देवीका रुपमा अतिक्रमण गरिएको र मुक्कुमलुङलाई समाप्त पार्न केबुलकारलाई मुख्य हतियार बनाइएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।

चुम्लुङ भवन, ललितपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किरात याक्थुङ चुम्लुङका प्रेम येक्तेन, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समुहका संयोजक नन्द कन्दङवा, पहिचानवादी मोर्चाका नेता खगेन्द्र माक्खिम, अभियन्ता राम मादेनलगायतका वक्ताहरुले पटक पटकका सम्झौताहरुलाई लत्याउँदै जर्वजस्ती केबुलकार निर्माण गर्न राज्य र निर्माण कम्पनी लागेकाले ‘मुक्कुमलुङ छोड’ आन्दोलन घोषणा गरिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्