Dashain Banner
Dashain Banner

राष्ट्रपतिले दिए तीजको यस्तो शुभकामना 

शुक्रबार, भदौ २१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

तिजको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले तिज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

‘नेपाली हिन्दू महिलाहरूको महान् चाड तिजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताए ।

साथै, यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न पनि आवश्यक देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्