श्रमिकले विदा होइन श्रम खोज्छ, विदा अधिकार होइन सुविधा हो

बुधबार, वैशाख १९, २०८१

अमेरिकाको हेथ्राेन कम्पनीमा सन् १९२० मा  मानिसलाई कसरी काम लगाउँदा उत्पादन दिन्छ भन्ने प्रयोग गरियो। यसलाई व्यवस्थापनमा कर्मचारी र कामको बीचको ठूलो प्रयोग मानिन्छ।  टेलरले काम,पैसा र मान्छेको बीचको सम्बन्धको तथ्य दिइसकेका थिए। हेथ्राेन प्रयोगले मानिस, मेसिन र कामको सम्बन्ध र व्यवहार बाट नतिजा कसरी निस्किन्छ भन्ने प्रमाणित भयो। 

मानिस किन काम गर्न रुचाउँछ भन्ने विषय आजसम्म प्रयोग हुँदै आएको छ। सत्रौँ शताब्दीभन्दा अगाडि कामदार थिएनन् । दास थिए। दास मालिकको इच्छामा काम गर्थ्यो। मेक्स वेबर कर्मचारी तन्त्रमा विदालाई उत्सवको रुपमा मान्छन्। उनी समाजवादी चिन्तक हुन्। पछि किन्सिएन अर्थशास्त्रले विदालाई उत्सव होइन ,स्वतन्त्रताको रुपमा लियो।  उत्सव र स्वतन्त्रता एकआपसका पर्याय होइनन्। तर दुवैमा श्रमिकको आनन्द लुकेको छ।

तर, श्रमिकले बिदाको प्रयोग गर्ने तरिका फरक छ। समाजवादीहरु विदालाई अधिकार मान्दैनन्। सुविधा मान्छन्। तर अहिलेको व्यक्तिगत स्वतन्त्रतामा बिदा सुविधा  भन्दा बढीअधिकार हो। ।पछि बिदा सम्बन्धी थुप्रै धारणा स्थापित भए।।सबै धारणाभित्र एउटा विषय केन्द्रित छ। त्यो हो श्रमको विश्राम।  

विदाले पैसा गुमाउँछ, श्रमिकले विदा होइन श्रम खोज्छ भन्ने मान्यता अर्थतन्त्रमा लागू हुँदै गयो।। त्यसैले उनीहरू श्रमिकको सुविधालाई  परम्परा,संस्कृतिमा जोड्दैनन्। श्रम र उत्पादनसँग जोड्छन्। श्रमको उत्पादन र यसले खर्च गर्ने पुँजीसँग बिदाको सम्बन्ध हुन्छ। नेपालमा सार्वजनिक विदा प्रयोगमा आधारित छैन। यसको गहिरो अध्ययन भएकै छैन। यो श्रमिकको इच्छाभन्दा पनि क्यालेन्डरमा आधारित छ।  क्यालेन्डर भित्र संस्कृति परम्परा धर्म व्यवहार देखिन्छन्। अर्थशास्त्रीय हिसाबले नेपालमा श्रमिकको बिदाको औचित्य पुष्टि हुँदैन।

कामको सट्टामा ज्याला लिने वर्ग श्रमिक हो। यो ज्यालामा फरक हुन सक्छ तर श्रमिकका उत्साह मार्का र सुविधा एकै हुन्छन्। यस अर्थमा नेपालको कर्मचारी तन्त्र पनि एउटा श्रमिक वर्ग हो। श्रमिक काम गर्न रुचाउँछ श्रमिकको वर्ग अनुसार कार्य सम्पादन र नीतिगत तह दुवैमा श्रमिकको पकड हुन्छ।

तर उच्च तहहरु आफूलाई श्रमिक मान्दैनन् मालिक मान्छन्। यहीँबाट नेपालमा वास्तविक श्रमिक को हुन् भन्ने विषयको पुष्टि हुँदैन। त्यसैले नेपालमा श्रमिकको हित हुने कानुन हरू श्रमिक मुखी छैनन्।  श्रमको स्थिरता छैन। श्रम कानुन छन् तर श्रमिकको सुनवाई हुँदैन। यथार्थमा कुन क्षेत्रमा कति श्रमिक छन् यसको तथ्याङ्क सरकारसँग छैन।

कृषि श्रमिकहरूको गणना नै छैन। अनौपचारिक श्रमले ज्याला,बीमा ,समय, स्थायित्व स्थिर छैन र  नेपालकाे श्रम बैंक  विदेशको लागि मात्र उपयोग भएको छ। आन्तरिक श्रमको खपत  न्यून छ। जबसम्म १७ वर्षभन्दा माथिको श्रमलाई हामी सिपयुक्त बनाउँदैनौँ। तबसम्म श्रमभित्रको अनौपचारिकता बढिरहन्छ।

यो श्रम बजारको उपयोगमा नकारात्मक संकेत हो। निर्माण, सेवा, उत्पादन ,उद्योग क्षेत्रमा भारतीय श्रमको सङ्ख्या बढेको छ। भारतमा रेमिटान्स भित्रिने मुख्य मुलुकमा नेपाल पर्छ। त्यही काम र त्यति नै  आम्दानी गर्न नेपालीहरू खाडी मुलुक र युरोप पुग्छन्। के हामीले श्रमको सदुपयोग गर्न नजानेकै हो।

तालिम केन्द्रहरू औपचारिकतामा सीमित छन्। निजी क्षेत्रमा श्रम तालिम केन्द्रहरू छँदै छैनन् ।सरकारी क्षेत्रका तालिम केन्द्रहरू औपचारिकतामा सिमित छन्। दक्ष र सीपयुक्त श्रम नेपालमा अडिनै सक्दैन। श्रमिकको लागि नेपालको श्रम बजार उपयुक्त देखिएको छैन। अनौपचारिक श्रमले जताततै ढाकेको छ।

चीनले मेक्सिकोमा भियतनाम इन्डोनेसिया र मलेसियाको श्रम  भन्दा सस्तो ज्यालामा अमेरिका केन्द्रित उत्पादन सुरु गरेको छ। कोरोनाकालपछि सबैभन्दा मन्दीको अवस्थामा अहिले चीन छ। यसैलाई रिकभर गर्न चीनले सस्तो सामान उत्पादन गर्न थालेको छ। चीनको बजारले अहिले इलेक्ट्रिक ,गारमेन्ट्स , सोलार मेसिनरीमा विश्व बजार ढाकेको छ।  

टेस्लाले आफ्नो उत्पादन मेक्सिकोमा सुरु गरेको छ। बढ्दो उद्योग र व्यापारको प्याटर्न र बजार केन्द्रित उत्पादनमा विकसित देशहरू समेत सतर्क छन्। र श्रमलाई सिपयुक्त र उत्पादनमूलक बनाउँदैछन्। नेपालमा श्रम प्रयोग गर्ने रणनीति समेत दिगो छैन।हामी अझै परम्परागत उत्पादन व्यापारमा  श्रमको प्रयोग गर्छौं र श्रमको  न्यूनतम उपयोग समेत हामीलाई थाहा छैन।  बजारमा श्रम खेर गइरहेको छ ।

सीमान्त श्रमिकको प्रति व्यक्ति आम्दानी वार्षिक ७५० डलरभन्दा कम  छ। श्रमको उच्चतम उपयोग गर्नुभन्दा श्रमलाई फुर्सद दिँदैछौं। सार्वजनिक विदा र होलिडेले नेपालको श्रम बजार  निर्वासित हुँदैछ ।श्रमको उपयोगको आधारमा होलिडे नीति छैन। यसबाट मनोवैज्ञानिक रुपमा नेपालको सीमान्त श्रम चिन्तित छ। सुधारको लागि सरकारी क्षेत्रलाई कुनै वास्ता छैन।

बिदा अधिकार होइन सुविधा हो। हाम्रा कानुनले यही भनेका छन्। यो मानवीय पक्ष हो। अन्तर्राष्ट्रिय श्रम संगठनले श्रमिकको काम हप्तामा ४०  कार्यघण्टा तोकेको छ। त्योभन्दा बढी काम गर्दा श्रमिकले अतिरिक्त पैसा पाउँछ। यसैको आधारमा देशभित्र बिदा सम्बन्धी कानुन छन्। नेपालमा सार्वजनिक बिदाका थुप्रै प्रावधान छन्।

निजामती कर्मचारीले वर्षको ३० दिन घर बिदा १२ दिन बिरामी बिदा,आठ दिन भैपरि बिदा पाउँछन्। सुविधा अनुसार बिरामी बिदा ,असाधारण विदा अध्ययन विदा थुप्रै सुविधा छन्। निजामती सेवाको यो  विषय अन्य सरकारी, सार्वजनिक र निजी क्षेत्रले समेत सुविधाको रुपमा लागू गरेका छन्।

देवशमशेरले शनिबारको बिदा चलन चलाएका हुन्। त्योभन्दा अगाडि बिदा संस्कृति परम्परामा आधारित थियो। दशैं तिहार लगायत राष्ट्र पर्वमा बिदा हुन्थे। आजसम्म ‌विदालाई पुनर्ताजगी र संगठनको उत्पादनसँग कसरी जोड्ने भन्ने विषयमा हाम्रो अध्ययन कमजोर छ। अहिले त सामाजिक न्याय र बहुलवादी संस्कृतिको आधारमा प्रत्येक धर्म सम्प्रदायका पर्वहरू राष्ट्रिय विदाको रुपमा थपिँदै छन्। संस्कृति जगेर्नाको लागि यो राम्रै होला।

तर सार्वजनिक विदाको उपयोग हाम्रोमा सन्तोषजनक छैन।  बिदा यति धेरै भए कि नियमअनुसारको बिदा लिनै नपर्ने अवस्था छ। एउटा धर्म र सम्प्रदायको राष्ट्रिय पर्व अर्को धर्म र सम्प्रदायको अनिवार्य नहुन सक्छ ।तर  बिदा मनाउनुपर्ने बाध्यता हाम्रो छ। राष्ट्रियताको कुरो अर्कै हो। विदाले राष्ट्रियता थेक्दैन।

स्थायी र बेतनभोगीको लागि यस्ता होलिडेहरू मनोरञ्जन बन्न सक्छन्। किनकि उनीहरूको खातामा महिनाको अन्तिम दिन पैसा जम्मा हुन्छ। तर अनौपचारिक श्रमिकहरू यो सार्वजनिक विदामा पीडा मनाउँछन्।  चौबीसै घण्टा बजार खुल्नु र सरकारी दफ्तरहरुमा काम पाउनु उनीहरुको विश्राम हो। किनकि हाम्रोमा सिमान्त श्रम प्रत्येक दिनको ज्यालामा रमाउँछन् हप्तैपिच्छे बढ्दै गरेका विदाहरूमा होइन। यो विषयलाई राजनीतिकभन्दा गैरराजनीतिक ढंगले हेर्नुपर्ने जरुरी छ।

सरकारी कर्मचारीले क्षमताअनुसारको काम पाएका छैनन्। कर्मचारीको सङ्ख्या धेरै, काम थोरै छ। काम धेरै नतिजा थोरै छ। नतिजा र श्रमको बीचमा तादात्मिकता छैन। भएको बिदा उपयोग नगर्ने साँचेर राख्ने र अवकाशपछि बिदाको पैसा लिने प्रचलन छ। यसको अर्थ हाम्रोमा बिदा धेरै छन्। र कर्मचारीले बिदालाई विश्रामको रुपमा होइन उपयोग मात्र गरेको देखिन्छ अनिवार्य सेवाहरूमा विदा र सुविधाको चाप छ ।

तर धेरै कर्मचारी बेफुर्सदिला छन्। हाम्रा सरकारी कामहरू यस्ता छन् जहाँ नाम मात्रको १०_ ५ बजाउनुपर्छ। यथार्थमा कार्यालयमा हाजिर गरेर कामै नभएर हिँड्ने कर्मचारीहरु झन्डै २५% भन्दा माथि छन्। यिनीहरुले बिदाको महसुस नै गर्दैनन्। यही वर्गलाई सार्वजनिक विदा बढी भएको छ। अहिले त सार्वजनिक विदाप्रति कर्मचारी नै बेवाक छन्। उनीहरु आफै भन्दैछन् नेपालमा  बिदा बढी भयो। नेपाल संसारमै सबैभन्दा बढी बिदा दिने देशहरू भित्र पर्छ।

तर यही बेरोजगारी उच्च छ । गरिबी उच्च छ। उत्पादन न्यून छ। निर्यात कमजोर छ ।श्रमको ज्याला कम छ ।अनौपचारिक श्रमिकहरु को रेकर्ड छैन । अनि हामी देशमा समृद्धि खोज्दैछौ।

काठमाडौँ सहर लगायत देशका ठूला सहर मृत बन्दै जाँदैछन्। बजार सुनसान छ। सौन्दर्यकरणको नाममा सीमान्त व्यापार सिनितै पारियो। यसले महलहरु समेत रितिदै छन। श्रमको सिप र मेहनत सिमान्त बजारबाट सुरु हुन्छ। तर हामीले साना र सीपयुक्त व्यापारलाई विस्थापित गर्दैछौं।

हामीलाई दिउँसोको मात्र होइन रात्री व्यापार समेत जरुरी छ। दिउँसोका सेवाहरू  थुप्रै विदाबाट  प्रभावित छन्। अहिले काठमाडौँ बाट सीमान्त श्रम बाहिरिँदैछ। महङ्गी बढेको छ। उत्पादनका क्षेत्रमा श्रमिक कम छन्। झन् हप्तामा नियमित बाहेक थपिँदै गरेका विदा उत्सव होइन शोक बन्दै छन्। के हामी यति धेरै बिदा उपभोग गर्न तयार छौं ।बिदा उपयोग गर्न पनि पैसा चाहिन्छ। पैसा र उत्पादनलाई बिदाले मनोबल दिनुपर्ने हो तर हाम्रोमा यो मनोबल विदेशिँदै छ। 
 

विकसित देशहरूमा जसले श्रम पैसा र उत्पादनको महत्व बुझेका छन्। उनीहरुले सेवालाई समेत स्थायी र अनिवार्य गर्दैनन्। प्रति घण्टा श्रमिकको सेवा लिने गर्छन्। यो श्रम विभाजनको अति उत्तम तरिका हो। स्थायी र अनिवार्य कामदारहरूले वर्षको बिदा तोकिन्छ। बाँकी रहेका धर्म संस्कृति परम्पराका विदाहरु आफ्नो इच्छा अनुसार प्रयोग गर्छन् ।

अर्को आस्थाको कर्मचारी ले बिदा उपयोग गर्दैन।तर उ त्यो संस्कृतिमा रमाउने र शुभकामना आदानप्रदान गर्ने गर्छन् ।बहुलवादी संस्कृतिको विशेषता नै यही हो। हाम्रा विदाहरू थुप्रै भए। यसलाई सीमित गर्नैपर्छ। अनिवार्य  बाहेक धर्म संस्कृति र परम्परासँग सम्बन्धित विदारू ऐक्षिक बनाइनुपर्छ ।

राजनीतिको लागि यो विषय कठोर हुन सक्छ। तर त्योभन्दा अहिले नेपालको अवस्था खराब छ। दशैं तिहार लगायत ऐतिहासिक र महत्त्वपूर्ण पर्वहरूमा सीमित विदा दिनुपर्छ। शरीर ,माटो, हावा ,पानी, ढुङ्गा ,नदीनाला र सम्पूर्ण प्रकृतिसँग हाम्रो आस्था जोडिएको छ। यसैबाट हाम्रा पर्वहरू निर्माण भएका छन्।

देश उभो लाग्यो भने मात्र यी धरोहर हरु उन्नत बन्छन्। देश उभो लाग्ने एउटा अचुक मन्त्र श्रमको अधिकतम प्रयोग र उत्पादनमा ध्यान दिनु हो। अब गरिब होइन श्रमिक पहिचान गर्नुपर्छ। श्रमिकको परिचयपत्र दिनुपर्छ। सहकारीभित्र पुँजीको प्रवेशले रोजगारी सकियो। सीमान्त श्रमिकलाई बैंक वित्तीय संस्था मार्फत अनुदान ऋण उपलब्ध गराउनुपर्छ ।बिना धितो उत्पादनमा पुँजी बढाउँदा श्रमिक उत्पादनप्रति आकर्षित हुन सक्छन्।  

तलब, बीमा ,सुरक्षा ,ज्याला, बिदाले श्रम र उत्पादनलाई पूँजीमा परिणत गर्छ। तब मात्र बिदाको सही उपयोग हुन्छ। यसैकोआकर्षणले नेपालको श्रमिक विदेशमा रमाउँदै छ। श्रमिकको पहिलो आकर्षण उसको श्रमको सुरक्षा हो। संसारमा श्रम र श्रमिकको सुरक्षाले उत्पादन र पुँजी बढाएको छ। र देश धनी भएका छन्। श्रमिकको जहाँ सम्मान हुँदैन । त्यो देश धनी हुन सक्दैन।

श्रमिक दिवसमा सबै श्रमिकहरूलाई शुभकामना।(लेखक दाहाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव हुन्)

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्