शिक्षामन्त्रीले शिक्षा ऐन ल्याउने सारे भाखा, कहाँ पुग्यो काम ? अझै कति लाग्छ ?

सोमबार, जेठ २६, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयक- २०८० सम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन्।

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको बताए। यस अघि असार १५ मै ल्याउने कसम खाएका थिए। 

शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासंघसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताए। ‘उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास अगाडि बढ्ने विश्वाससहित महासंघसँग सहकार्य र समन्वय आवश्यक परेको हो’,उनले भने।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राखे।

‘विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ,त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ। चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ’,उनले भने।

शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उनले सम्पूर्ण शिक्षकलाई आग्रह गरे।

‘प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्न माध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ’,उनले भने। शिक्षक महासंघसँग भएका नौबुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औँल्याए।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्