सोसल मिडिया
युनिकोड
भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी आइतबार काठमाडौं आउने भएका हुन् । नेपालस्थित् भारतीय दूतावासले विदेशसचिव मिश्रीको भ्रमण तय भएको बताएको छ । यही साउन २७ गते उनी नेपाल आउने भएका हुन् । उनी दुई दिन नेपालमा रहने बताइएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणादेखि विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतले जनाएअनुसार विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेगरि कार्यक्रम बनाउन सुरु गरिएको छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका हुन् ।
उनीअघि सो जिम्मेवारीमा नेपालका लागि राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका विनयमोहन क्वात्रा थिए । क्वात्रा अमेरिकाको लागि राजदूत नियुक्त भएका छन् । विदेशसचिव मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि दिने बताईएको छ । अहिलेसम्म भारतले आधिकारिक रुपमा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाईल्याण्ड हुने निश्चित् भएको छ ।
मिश्री गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए । विदेशसचिव मिश्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । यसैगरी, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा. मनमोहन सिंह र आइके गुजरालको निजी सचिवका रूपमा काम गरिसकेका छन् ।
कूटनीति र सुरक्षाको अनुभव रहेका मिश्री भारतीय विदेश मन्त्रालयमा चीनविज्ञका रूपमा चिनिन्छन् । चिनियाँ भाषाको विज्ञतासमेत लिएका मिश्रीले दुई छिमेकी चीन र म्यानमारमा राजदूतको अनुभव लिएका छन् । राजदूतभन्दा तल्लो ओहोदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग (राजदूतावास)मा काम गरेको अनुभव छ । उनले नेपालसँग सम्बन्धित उत्तरी डिभिजन वा नेपालस्थित भारतीय राजदूतावासमा भने काम गरेका छैनन् ।
भारतको कस्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिश्री १९८९ मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१९ को सुरुवातदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए । त्यसअघि उनले स्पेन र म्यानमारका लागि भारतीय राजदूतको अनुभव लिएका छन् । त्यसो त उनी २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा कार्य गरेको अनुभव र निकटता दुवै छ ।