Dashain Banner
Dashain Banner

सगरमाथा सहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोमबार, वैशाख १७, २०८१

सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय ४३ किलो फोहोर सङ्कलन गरेको हो । 

सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनले भने, “फोहोर सङ्कलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर सङ्कलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौँ लैजाने योजना छ ।” 

हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उनको विश्वास छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख÷प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ । 

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्