Dashain Banner
Dashain Banner

‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’

शुक्रबार, असार २८, २०८१

नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्गभएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्