Dashain Banner
Dashain Banner

संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

बुधबार, असार २६, २०८१

संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमिस्टरका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ । 

यहाँ अध्ययनरत दुई विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन गरुञ्जेलको शुल्क बराबर रु. ३७ हजार रकम छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ लोकगायक बमबहादुर कार्कीले जानकारी दिए । मङ्गलबार छात्रवृत्ति रकमको चेक त्रिवि संस्कृति विभाग प्रमुख डा. महेशकुमार आचार्यलाई हस्तान्तरण गरिएको पनि उनले बताए । छात्रवृत्ति संस्कृति विषयमा स्नातक तहमा सर्वाधिक अंकका साथ उत्तीर्ण भएका प्रमीला बोहरा र श्यामकुमार बोहरालाई प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष कार्कीले सांस्कृतिक कर्मलाई त्रिविको संस्कृति विषयका प्राज्ञिक कर्मसँग जोड्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । 

विभागीय प्रमुख डा. आचार्यले समाजको अनुहार मानिने संस्कृति विषय पठनपाठनमा छात्रवृत्तिले थप आकर्षण बढाउने बताए । उनका अनुसार विभागअन्तर्गत हाल ४० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब ५० जनाले विद्यावारिधि गरिरहेका छन् । विभागले अहिले स्नातकोत्तर तहका उत्कृष्ट शोधार्थीलाई बालकृष्ण रिजाल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्