कस्तो हुन्छ आज दिनभरको मौसम ?

सोमबार, असार २४, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको छ। यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीकाे अवस्था छ भने देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।

बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभरकाे माैसम साधारणतया बदली रहने छ। दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।   

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।   
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्