सोसल मिडिया
युनिकोड
पछिल्लो दुई दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दिनैपिच्छे सरकारी कर्मचारीलाई समात्यो। गत शनिबार झिसमिसेमै यातायात ब्यबस्था विभागका करारमा कार्यरत कर्मचारी हरिश भट्ट समातिए। भट्ट समातिएको २४ घण्टा नबित्दै अख्तियारमा काम गर्दै आएका सुरज अर्याल समातिए। अर्याल पनि अलि पहिले विभागमै थिए। दुवै जना नक्कली लाईसेन्स प्रकरणका कारिन्दा भएको ठहर गर्दै सिआईबीले नियन्त्रणमा लिएको हो।
सवारी ज्यान मुद्दामा शशांक बस्याल नाम गरेका व्यक्तिलाई गाडीको नक्कली लाइसेन्स दिएर थुनामुक्त गराउन कम्प्युटर इन्जिनियर अर्याल, बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेलगायतका कर्मचारी संलग्न रहेको फेला पारेपछि सिआईबीले अनुसन्धान सुरु गरेको हो । त्यसै शिलशिलामा कम्प्युटर इन्जिनियर अर्याल, भट्ट र पाण्डेलाई पक्राउ गरिएको सिआईबीको भनाइ छ ।
नक्कली लाइसेन्स जारी धन्दाको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआईबीमा पुगिसकेको छ । सिआईबी र अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा उक्त प्रतिवेदनमा नाम किटान गरिएका कम्प्युटर इन्जिनियर अर्यालको अपर्झट अख्तियारमा सरूवा भएको हो । इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स छानबिनलाई प्रभावित पार्न यातायातका पूर्व कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियार सरुवा गरिएको चर्चा चलेको छ ।
कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियार लान अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव कमानसिंह थापा मगरको विशेष भूमिका रहेको सामान्य प्रशासन मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार अख्तियारमा समेत बसेका थापाले अख्तियारको सहमति ल्याउने र सूचना प्रविधि विभागबाट कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियारमा सरुवा गराउन उनले विशेष भूमिका खेलेका हुन् ।
वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री हुँदा निजी सचिव रहेका थापा सामन्यको कर्मचारी प्रशासन, गृहको कर्मचारी प्रशासन हुँदै अर्थमा पुगेका हुन् । नक्कली लाइसेन्स र इम्बोस्डमा जोडिएका अर्थ मन्त्रालका सहसचिव डा. टोकराज पाण्डेको मातहतमा काम गरिरहेका थापाले पाण्डेसँगै काम गरेका अर्याललाई अख्तियारमा सरुवा गर्न भूमिका खेल्नुले शंका उत्पन्न गराएको छ ।
अख्तियारले पनि विवादित र छानबिनमा तानिने सम्भावना भएको व्यक्तिलाई सरुवाको सहमति दिएकाले आलोचना हुन थालेको हो । थापासँगै सामान्यको कर्मचारी प्रशासन कार्यालयमा काम गरेका शाखा अधिकृत विकास डंगोल समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा नक्कली भिसा काण्डमा अदालतमा मुद्दा खेपिरहेका छन् । उनले अर्को विवादित पात्रलाई अख्तियार लान भूमिका निर्वाह गरेका हुन् ।
कम्प्युटर इन्जिनियर अर्याल पक्राउ परेसँगै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु नमराज घिमिरे, डा. टोकराज पाण्डे, गगनबहादुर हमालहरु छुटाउन सक्रिय भएको स्रोतले बतायो ।