सोसल मिडिया
युनिकोड
सत्ता गठबन्धनभित्रको लफडाले लुम्बिनी प्रदेशमा ल्याङ्ग-ल्याङ्ग भएको छ। सहमतिअनुसार दुई मन्त्रालय नपाएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि लफडा सतहमा आएको हो ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा यही वैशाख ६ गते कृषिमन्त्री बनेका जसपाका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति गरेका थिए। तर अहिले एउटा (कृषि) मन्त्रालय मात्र दिएपछि जसपा सरकारबाट बाहिरिएको हो।
अहिरले शनिबार मुख्यमन्त्री महरालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री जोखबहादुर महराले हाम्रो पार्टीसँग मिति २०८० चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेकोले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य तथा कृषि तथा भूमि व्यवस्था मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’
तीन सांसद भएको जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन। ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा जसपा नहुँदा मौजुदा सरकार जोगिदैन।