Dashain Banner
Dashain Banner

आठ सय २५ शिक्षकलाई लाग्यो शिक्षा मन्त्रीले हानेको मन्त्र, बीसले जागिरै त्यागे

मंगलबार, असार ४, २०८१

शिक्षा तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् । 

यहि बिचमा देशभरका ८ सय २५ जना शिक्षकले  राजनीतिक दलको आबद्धता त्याग्न शिक्षा मन्त्रालयको निर्देशन पालना गरेका छन् । तर, २० जनाले भने बरु शिक्षक पद नै त्यागेर भए पनि राजनीति अँगालेका छन् । 

शिक्षामन्त्री सुमना श्रेष्ठले दलको आबद्धता त्याग्न शिक्षकहरूलाई निर्देशन दिएकी थिइन् । ती मध्येका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीति रोजेका हुन् । 

राजनीतिमा लागेर शिक्षणलाई सहायक पेशा बनाएका २० जना शिक्षकहरूले राजीनामा दिएको  शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जानकारी दिए । उनका अनुसार राजीनामा दिनेहरू पार्टीको कार्यकारी भूमिकामा बसेका शिक्षकहरू छन् ।

मन्त्री सुमनाले  शिक्षामा दलीय राजनीतीकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् । उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागू गरेर छोड्ने बताइन् ।

उनले शिक्षामा दलीय राजनीतीकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेन्डा भएको बताइन् । उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुवात भएको उल्लेख गरिन् । उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन् ।

उनले सबैको साथ सहयोग भए मात्रै यो एजेन्डाले सार्थकता पाउनसक्ने बताइन् । उनले शिक्षामा दलीय राजनीतीकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेशामा मर्का पुर्‍याइरहने बताइन् । उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको बताइन् । आगामी दिनमा झन् कठोर भएर लाग्ने उनको भनाई छ। 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्