सोसल मिडिया
युनिकोड
पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ। कुनै समय उच्च विन्दुमा पुगेर लगानीकर्तालाई हर्षित बनाएको सेयर बजारले पछिल्लो ३० महिना भन्दा धेरै समयदेखि लगानीकर्तालाई निरुत्साहित बनाइरहेको छ।
सेयर बजारको भविष्य कस्तो होला भन्नो जो कोहि लगानीकर्ताको चासोको विषय बनेको छ।
पुरानो गठबन्ध फेरीएपछि दोस्रो पटक अर्थमन्त्री बनेका बर्षमान पुनको नियुक्तीसँगै सेयर बजारमा सकारात्मक परिवर्तन आउने लगानीकर्तामा आशा थियो । पदभार ग्रहणका क्रममा सेयर बजारमा सुधार गर्ने बताएका पुनले सेयर बजार ६० लाख लगानीकर्ताको भविष्यसँग जोडिएकाले सुधारको कदम चाल्ने भनेका थिए।
उनले मन्त्रालय सम्हाले लगत्तै बजार सुधारका लागि एक साताभित्र कार्ययोजना पेस गर्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई पत्र नै काटे। त्यसले पनि लगानीकर्तामा आशा जगाएको थियो। बोर्डले सम्बद्ध निकाय, लगानीकर्ता र सरोकारवालासँग छलफल गरी मन्त्रीलाई सुझाव बुझाइसकेको छ। तर सेयर बजार सुधारको लागि तत्काल कदम चाल्ने भनेका मन्त्री पुनले बोर्डले बुझाएको सुझाव अझै कार्यान्वन गरेका छैनन्।
अर्थमन्त्री पुनको आगमनलाई सेयर बजारले स्वागत नै गरेको थियो। पुन अर्थमन्त्री नियुक्त हुँदा फागुन २३ मा बजार २०१७ विन्दुमा थियो। पुनको नियुक्तिलाई स्वागत गरेको बजार बढेर फागुन ३० मा २१०८ विन्दुमा पुगेको थियो। तर शेयर बजारको उकालो यात्रा धेरै दिन टिक्नै सकेन।
बजारका जानकार भने अर्थतन्त्रमा देखिएको समस्या नसल्टिएसम्म लगानीकर्ताको आत्मविश्वास नबढ्ने बताउँछन्। निरन्तर ओरालो लाग्दै गइरहेको सेयर बजारमा सरोकारवाला निकायहरुले नै चासो कम देखाएकोले लगानीकर्ताहरु निरुत्साहित बन्दै गएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। जसकै कारण लगानीकर्ताहरु लगानी थप गर्ने भन्दा पनि त्यसबाट निस्किनै पर्छ कि भन्ने सोच बनाउन थालेको उनको भनाइ छ। साथै सेयर बजारको जोखिमको क्षेत्रलाई सयमा झार्न आवश्यक रहेको उनले बताइन्। उनी भन्छिन्, ‘सेयर बजार राज्यका सबै सरोकारवाला निकायबाट अपहेलित बनेको छ । यस्तो हुनु भएन।’
पछिल्लो समय नेपाल स्टकमा रहेका १३ वटा उपसमूहको सूचक सबै नकारात्मक छन् । यस अवधिमा सबै भन्दा धेरै बैकिङ उपसमूह घटेको देखिन्छ। र लघुवित्त उपसूचकमा भने निकै नै उतरचढाब भएको देखिन्छ। यस अवधिमा उत्पादन तथा प्रसोधन उप समूहको सूचकमा खासै दबाव परेको देखिदैन। यसै वर्ष यस समुहमा तीन बटा कम्पनी सूचीकृत हुँदा पनि यस समूहको सूचक सन्तुलन देखिएको हुन सक्ने लगानीकर्ताहरुको बुझाइ छ ।
कार्यक्रमको अन्तर्वाता खण्डमा पुँजी बजार विज्ञ अम्बिका प्रसाद पौडेलले पुँजी बजार सधैँ स्थिर रहनुपर्छ भन्ने नरहेको बताए। उनी भन्छन्, ‘पुँजी बजार भनेको सधैँ स्थिर रहनुपर्छ र नियमकले चाहेकै बिन्दुमा भइरहनुपर्छ भन्ने विषय हो जस्तो मलाई लाग्दैन।’
‘विगतमा हामी धेरै नगइकन अहिलेको बजार ट्रेण्ड हेर्ने हो भने अब क्रमश त्यो अवधि सकिएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो।’ अब बजार कहिले बढ्छ त भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको आर्थिक गतिविधि लगायत सबै कुरालाई नियाल्ने हो भने अहिले चाँहि हामि लगभग घट्दो क्रमको न्यून बिन्दुमा हो भन्ने कुरा इण्डिकेटरले देखाउन थालेको छ।’
शेयर बजारलाई माथि लैजानलाई सहयोग गर्ने तरलता, ब्याजदर, राजस्व, चहलपहल पनि क्रमश वृद्धि हुँदै गएको सन्दर्भमा भोलिको दिनमा शेयर बजार अब उठ्ने बेला आएको उनले बताए। ‘सेयर बजार भनेको रातारात परिवर्तन हुने कुरा होइन त्यसको लागि समय लाग्छ। त्यसैले अहिलेको सबै गतिविधि हेर्ने हो भने के भन्न सकिन्छ भने सेयर बजार हिँड्न सुरु गरको होइन तर उठेको चाँहि पक्कै हो।’
सेयर बजारमा जानकार लगानीकर्ताको संख्यामा कमि रहेको पौडेल बताउँछन्। लगानी गर्नु अघि लगानीकर्ताले कम्पनीको बारेमा अध्ययन गरेर लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिने उनले बताए।