सोसल मिडिया
युनिकोड
खप्परमै लेखेर आएपछि कसैको केही सिप चल्दैन भन्ने उक्ति अहिलेका महालेखापरीक्षकका हकमा ठ्याक्कै मिल्छ। हुन त भाग्यमा छ भने डोकोमा दुध दुहुँदा पनि अडिन्छ भन्ने भनाई छ। त्यो भनाईलाई एक दशक अघि प्रधानन्यायाधिश छँदै प्रधानमन्त्री पनि हुन जुर्या खिलराज रेग्मीकै सन्दर्भले पुष्टी गरिसकेको छ। त्यो मात्र होइन मुख्यसचिवमा बाबुराम भट्टराईले तगारो हालेपछि राजिनामा दिएका तत्कालिन सचिव शंकर कोइरालालाई अर्थ मन्त्री नै आईलाग्यो।
एवम् रितले कोशी प्रदेशको लोकसेवा आयोगमा नियुक्ति खान जोडबल गरेका तोयम रायालाई महालेखापरीक्षकको जिम्मेवारी प्राप्त भयो। घर जानु ६ महिना अघि महालेखामा ६ बर्षैका लागि पुगेका रायाले सपथ पनि ६ (बैसाख) गते नै खान भ्याए। ६ अंकले उहिल्यैबाट नछोडेको उनी आफैले बताए। उनको सचिवको पाँच बर्षे कार्यकाल भदौ २२ मा सकिदै थियो।
झापाको तत्कालिन बैगुन्धुरा गाविसमा जन्मिएका उनको कोशीका सबै नेता संग राम्रै उठबस छ। त्यसैले पनि उनले कोशीको लोकसेवामा आँखा गाढेका थिए। तँ चिता म पुर्याउछु भने झैं गरि उनका लागि चन्द्रमा त यसै दाहिना थिए नै त्यसमाथि केपी ओली झन् दाहिना बनिदिए। अनि किन चाहियो कोशी लोकसेवा। श्रीमान् सचिवज्यू बाट फड्केर माननीयको पगरी गुथ्न पुगेका उनका लागि पूर्व सचिव शिशिर ढुंगानाको विगतले झन् काम गर्यो। अदालतको मानहानीमा तीन हजार तिरो तिरेको मात्र नभई भ्रष्टाचारजन्य कसुरमा अख्तियारले मुद्दा चलाउने जानकारी बालकोटमा पुगेपछि ओलीले ढुंगानालाई किस्तीमै राखेर दिन खोजेको महालेखा रायाको पोल्टामा पुगेको हो।