सोसल मिडिया
युनिकोड
ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देवविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको राजस्व छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सोमबार ध्रुव देवलाई राजस्व छली अभियोगमा कारबाहीको माग गर्दै १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय रुपैयाँ असुल उपर तथा कैद सजायको माग दाबीसहित अभियोग पत्र पेश गरिएको हो ।
ध्रुव देव सञ्चालक रहेको ध्रुव कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँ महानगरपालिका–३१, नयाँ बानेश्वरस्थित ठेक्का, कन्सल्टेन्सी सेवा तथा निर्माण सामग्री खरिद–बिक्री कारोबारमा संलग्न कम्पनी हो ।
विभागका अनुसार देवले वस्तु वा सेवा नदिई मात्र बीजक जारी गरेको, खरिद कारोबारको भुक्तानी बैङ्कमार्फत नगरेको, बीजक सिलसिलेवार रूपमा जारी नगरेको, मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर विवरण नदिएको र झुट्टा विवरण पेश गरेको पाइएको छ। साथै, मालसामान खरिदको स्रोत नखुलाएको र नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरेकोसमेत अभियोगपत्रमा उल्लेख छ ।
उक्त कार्यले राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ विपरीत भएको भन्दै देवविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको विभागले जनाएको छ ।