शिक्षकहरुमाथि गरेको बर्बरता निन्दनीयमात्रै नभएर घृणित रहेको शेखरको ठहर 

सोमबार, वैशाख १५, २०८२

नेपाली  कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारले शिक्षकहरुमाथि गरेको बर्बरता निन्दनीयमात्रै नभएर घृणितसमेत रहेको बताएका छन् । आज (सोमबार) बिपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दैै उनले सरकारको त्यसप्रकारको रवैया कांग्रेसले सहन नसक्ने बताए ।

‘शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्‍यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली कांग्रेस जस्तो पार्टीले सहन सक्दैन,’– नेता कोइरालाले भने ।

नेता कोइरालाले नेता तथा कार्यकर्तालाई सरकारले गरेको गलत र कमीकमजोरीमाथि औँला उठाउन आग्रह गरे । उनले सरकारको गलत र कमीकमजोरीमा औंला उठाउन सकेको खण्डमा मात्रै पार्टीलाई बलियो बनाउन सकिने उनले बताए ।

साथै, फरक प्रसंगमा उनले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारीले चासो नदेखाएको भन्दै चिन्ता व्यक्त गरे । पार्टीका भ्रातृ संस्थाहरू पनि लथालिङ्ग भएको र यस्तो अवस्थामा पार्टी चल्न नसक्ने उनको भनाइ छ ।

‘कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ । महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो । तर हुन्छ÷हुँदैन, कोही नेतृत्व ÷पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन,’– उनले भने ।

नेता कोइरालाले जनतालाई प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग सरोकार नरहेको बताउँदै उनीहरुले अहिले ‘भ्रष्टाचार रोक र भ्रष्टाचार हुन नदेऊ’ भनिरहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्