शिक्षकहरूको आन्दोलन आज २४ औं दिन पनि जारी

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन आज (शुक्रबार) २४ औं दिन पनि जारी रहने छ ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताए ।

‘आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला,’ उनले भने ।

सुवेदीले सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्राक्रसबाहेक अन्य ठाउँबाट वारपार नगर्नसमेत अनुरोध गरेका छन् । शिक्षकहरू विद्यालय शिक्षा ऐन लागू हुनुपर्नेलगायत माग राख्दै चैत २० गतेदेखि आन्दोलनरत छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्