प्रधानमन्त्रीकै रोहबरमा महादेवमाथि मानमर्दन, कसले काट्यो सुशासनको गर्धन ?

मंगलबार, फागुन ५, २०८२

प्रशासनिक बेथितिले जकडिएको नेपालको शासन संयन्त्र झन्-झन् भुत्ते बन्दै गएको छ। गर्नुपर्ने काम गर्दै नगर्ने र नगर्नु पर्ने काम खोजीखोजी गर्ने परम्पराले सबै जोगीको कान चिरिदिएपछि अवस्था झन् जटिल बन्दो छ। 

सुशासनको हवाला दिनेहरू बाटै थितिलाई कुल्चिने काम भएको छ। जेनजी आन्दोलनले बनाएको सरकारकी मूली प्रधानमन्त्रीकै अड्डामा बग्रेती बेथितिका नमूना छन्। झन्डै साढे दुई महिना अघि निर्वाचन आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका सचिव महादेव पन्थलाई काम न काजको बनाएर राखिएको छ।  नेपाल सरकारको विशिष्ठ श्रेणीको कर्मचारीलाई थन्क्याएर राख्नु पनि कुशासन हो, दुरुपयोग हो। तर, प्रधानमन्त्री सुशीला कार्कीकै रोहबरमा मुख्यसचिव सुमनराज अर्याल र सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले कुशासनलाई उकेरा हालेरै बसेका छन्। 

अघिल्ला मुख्यसचिव एकनारायण अर्यालले पन्थलाई जस्तै सचिव कमलप्रसाद पोखरेललाई जगेडामा कोचेका थिए। अहिले पोखरेलको नियति महादेवले खेप्दै आएका छन्। महादेव र पोखरेल अघिपछि सचिव भएका हुन्। पोखरेललाई जगेडामा थन्क्याएर प्रदेशबाट चन्द्रकला पौडेल र मदन भुजेललाई संघमा ल्याएका थिए। एकनारायणले बदमासी गर्दा अहिले त्यसको ‘भिक्टिम’ महादेव पन्थ बनेका छन्। 

आफूलाई ठिक नलागेमा पेलेर तेलै निकाल्न खोज्ने निजामती रोगले धेरै पिडित हुँदै आएका छन्। महादेवका ‘ब्याची’ गोविन्दबहादुर कार्की प्रधानमन्त्री कार्यालयकै सचिव छन्। उनले शासकीय मामिला क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन्। हुन त महादेवका सहोदर भाई रविलाल पन्थ पनि योजना आयोगका सचिव छन्। रविलाल र महादेव दुवैले आलोपालो निर्वाचन आयोगको सचिव हुने मौका पाएका थिए। २०२५ साल माघमा गुल्मी जिल्लामा जन्मिएका महादेव भाई रविलाल सचिव भएको तीनवर्षपछि सचिव भएका थिए। 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्