Dashain Banner
Dashain Banner

एक मन्त्री सहित पाँचभाई सचिव चुनावको मुखैमा ह्वारह्वार्ती विदेश उड्दै

मंगलबार, पुस २९, २०८२

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच भाई सचिवलाई विदेश जाने बाटो खोलिदिएको छ ।  

नेपाल सरकारका सचिवहरू रामप्रसाद घिमिरे, विकास देवकोटा, दिपक काफ्ले, मुकुन्दप्रसाद निरौला र भूपाल बरालको विदेश भ्रमण स्वीकृत भएको हो। उनीहरू मुलुक चुनावको चटारोमा होमिएकै बेला विदेश उड्ने भएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलकाे चीन भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। घिमिरेको यो नै सचिवको हैसियतको अन्तिम विदेश भ्रमण हुनेछ । उनी फागुन ९ गते घर जानेछन् । 

माघ १९ देखि २४ सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने डब्लुएचओको कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई स्वीकृति दिइएको छ।

त्यस्तै, मोरक्कोमा आयोजना बालश्रम उन्मुक्तिसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई स्वीकृति प्रदान गरिएको छ। उक्त कार्यक्रम माघ २८ देखि फागुन १ सम्म छ ।

माघ ६ देखि १२ सम्म स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको हो। 

अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत पनि स्वीकृत भइसकेको छ। बराल जाने कार्यक्रम माघ २६ देखि फागुन १ सम्म चल्नेछ ।

यता इटालीको रोममा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारलाई सहभागी हुने स्वीकृत दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ। चुनावको मुखमा मन्त्री र सचिवहरू विदेशिन लागेका हुन्। परियार जाने कार्यक्रम माघ २६ देखि २८ सम्म संचालन हुने छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्