नियुक्ति, सरूवा र बढुवाका काममा माघ दुईदेखि यसकारण लाग्दैछ लगाम 

शुक्रबार, पुस २५, २०८२

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारले जानकारी दिन लागेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्तहरूले आजै तीन बजे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउँदैछन्। निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरूवा बढुवा लगायतका काम गर्न निर्वाचन आयोगको परामर्श लिनुपर्छ।

त्यस्तै, बजेटमा तोकिएको बाहेक अन्य रकम विनियोजन गर्न पाउने छैन। त्यसैले सरकारलाई आयोगले आचारसंहिताको विषयमा जानकारी गराउने प्रचलन रहँदै आएको छ। 

त्यस्तै आयोगले आउँदो पुस ३० गते दलहरूलाई निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न लगाउने भएको छ। दलका प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेपछि आयोगले आचारसंहिता- कडाइ साथ पालना गराउने गरेको छ। 

आयोगले माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने दिनेबाट आचारसंहित लागू गर्न लागेको हो। माघ २ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय खुल्दैछन्। माघको ६ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ। आगामी सोमबार बस्ने क्याबिनेटले केही सचिव र केही सहसचिव सहितका कर्मचारीको सरुवा सूची तयार गरिरहेको बुझिएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्