सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएको बात् लागेका नेपाल सरकारका वरिष्ठ सचिव कृष्णहरि पुष्कर कर्णलाई कारवाही गर्न पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीले सक्रियता बढाएकी छन्।
सचिव कर्णले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गर्ने निर्णयमा चलखेल गरेर आफैलाई झुक्क्याएको भन्दै प्रधानमन्त्री कार्की उनी प्रति नकारात्मक बनेकी छन्। कार्कीलाई झुक्याएर श्रमिकमारा निर्णय गराउन सफल सचिव कर्णमाथि प्रधानमन्त्री कै निर्देशनमा ‘एक्सन’ लिने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
कारवाहीको पहिलो किस्ता अन्तर्गत उनलाई श्रम मन्त्रालयबाट तान्ने बुझिएको छ। सचिव कर्ण र पूर्व मुख्यसचिव एकनारायण अर्यालको सेटिङमा स्वास्थ्य परीक्षण शुल्क बृद्धिको निर्णय कार्यान्वयन गर्ने निर्णय भएको थियो।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क छ हजार ५ सय रुपैयाँबाट ९ हजार ५ सय रुपैयाँ बनाइएको उक्त तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की सचिव कर्णसँग रुष्ट बनेकी थिइन्। श्रम मन्त्रालयको जिम्मेवारी राजेन्द्रसिंह भण्डारीले सम्हालेबित्तिकै उक्त निर्णय खारेज गर्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन्। तर, श्रम सचिव कर्णले निर्णय खारेज गर्न नमानेपछि हंगामा मच्चियो।
श्रममन्त्री भण्डारीले उक्त निर्णय छानबिनका लागि अख्तियार पठाउने भनेपछि प्रधानमन्त्री पनि तानिने भनेर सचिव कर्णले घुर्काएको मन्त्री निकट स्रोतले बतायो। उक्त विषयमा सचिव कर्णमाथि कारबाही गर्नु पर्ने पक्षमा प्रधानमन्त्री कार्की रहेको मन्त्री निकट स्रोतको भनाइ छ।
मुख्यसचिव बन्न कर्णले सहसचिव निश्चलराज पाण्डेलाई प्रयोग गरेर ‘यो गरे र त्यो गरे’ भनेर आत्मश्लाघा लेख्न लगाएर कानुन किताब व्यवस्थापन समितिलाई अंग्रेजी अनुवाद गर्न पठाएको विषयले झनै हलचल मच्चिएको छ। उक्त विषयमा उचित अनुसन्धान भए पाण्डे र कर्ण दुबैमाथि कारबाही हुन सक्ने स्रोतले बतायो।
मधेशको गृह सचिव हुँदा कर्णले ५ लाखभन्दा बढी सुराकी भत्ता खाएको विषय त महालेखापरीक्षकको कार्यालयले प्रारम्भिक प्रतिवेदनमै उल्लेख गरेको थियो। उपसचिव हुँदा पनि कर्ण श्रम मन्त्रालयमै थिए। सहसचिव बनेपछि उनले वैदेशिक रोजगार विभागको महानिर्देशक भएर पनि काम गरे।
सचिव बढुवा भएपछी उनले प्रदेश जानु परेन। मिलाएर जागिर खान खप्पिस उनी अर्थ मन्त्रालयको राजस्व सचिव हुँदै अर्थ सचिव नै भए। प्रधानमन्त्री कार्यालयको सचिव हुँदै सामान्य प्रशासन र श्रम सचिव बनेका उनले मरिहत्ते गरेर पनि गृह सचिव बन्न सकेनन्। त्यस्तै मुख्यसचिव बन्न जाने जति र सके जति गरे पनि हुन नसकेका उनलाई प्रधानमन्त्रीले नै कारवाही गर्नु पर्ने परिस्थिति बनेको छ। उनले सचिवका रुपमा आगामी असार सम्म जागिर खानेछन्।