सुशीलाको सुशासनमा मन्त्रीले नै खन्याए चिसोपानी, कसलाई के दिए छानीछानी ?

मंगलबार, पुस ८, २०८२

कुशासनले देश आक्रान्त भएको र सुशासन चाहिने निचोड सहित जेनजीले गरेको आन्दोलनको जगमा बनेको वर्तमान सरकार झन् गतिछाडा देखिएको छ। सुशासनको पुराण लगाउने प्रधानमन्त्री सुशीला कार्कीका एक मन्त्रीले कदमै पिच्छे तिनै कार्कीलाई चड्कन हानिरहेकै छन्। प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पनि ती मन्त्रीलाई नै टेको हाल्दै हिड्ने गरेको बुझिएको छ। 

कार्कीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफैसँग पढेका सहपाठीलाई पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव मनोनित गरेका छन् । उनलाई नियुक्ति गर्दा पर्यटन मन्त्रालयले बनाएको नियुक्ति सम्बन्धी मापदण्ड उल्लंघन गरिएको छ । मापदण्ड अनुसार कोषका सदस्य–सचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्छ। तर, पूर्व न्यायाधीश सिन्हाले ६७ वर्षीय आफ्नै सहपाठी शर्मालाई कोषको सदस्य–सचिव बनाएर साथीलाई गुण लगाएका छन् ।

अर्कातिर, नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मा पनि आफ़न्तैलाई लगाएका छन्। देव चन्द्रलाल कर्ण र मन्त्री सिन्हाबीच पारिवारिक सम्बन्ध छ। उनैलाई त्यहाँ नियुक्त गर्न सिन्हा भूमि मन्त्रालय त्यागेर पर्यटन आएका हुन्। कानून मन्त्री समेत रहेका उनले ज्योतिषी कानून सचिव पराशर ढुंगानालाई एकसरो कुण्डली देखाएर कामकाज गर्दै आएका छन्। बाल्मिकी पढेका दैलेखी दुंगानाले सिन्हाको ग्रह स्थितिका विषयमा दिनहुँ जसो व्याख्या गरेर दैनिकी सुरु गर्नु पर्ने अवस्था छ। 

भूमि मन्त्रालय मातहतका अड्डामा गर्नुपर्ने नियुक्ति सकेर पर्यटनमा सरुवा भएका मन्त्री सिन्हाले पर्यटन मातहतका अड्डाको नियुक्तिमा आँखा गाडेका छन्। विवादका सरदारलाई काखी च्याप्दै आएका उनले वाणिज्य मन्त्रालयमा पनि चाहिने भन्दा नचाहिने काममा ज्यादा ध्यान दिने गरेको त्यहाँका कर्मचारी नै बताउँछन्। आफैले सिफारिश गरेर खानेपानी मन्त्रालयको सचिव बनाएका राम आधार साहलाई टेको हाल्नु पर्ने थप जिम्मेवारी पनि तिनै सिन्हालाई छ।  खानेपानी मन्त्री राजेन्द्र भण्डारीले साह संग काम गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई भनिसकेका छन्। 

सर्वोच्चको न्यायाधीश भईसकेका मन्त्री सिन्हाको कार्यसम्पादनले उनको आचरणमा प्रश्न उठाउने ठाउँ मनग्गे पाएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्