सोसल मिडिया
युनिकोड
शक्ति केन्द्रमा रहेकाको दौराको फेर समातेर भने अनुरुपको पदको बैतरणी तर्ने अभ्यासमाथि पछिल्लो पटक ब्रेक लागेको छ। राजनीतिक दल सम्मिलित सरकार हुँदा त्यसरी सत्ताको सप्को मारेर चाँदी काट्नेहरू यतिबेला थान्को लागेका छन्।
नेपाल प्रहरीको आईजीपी नियुक्तिदेखि लिएर मुख्यसचिव बढुवासम्मै खेलोफड्को गर्न खोजिएकै थियो। तर, सुशासन कायम गराउने र निर्वाचन गराउने अभिभारा बोकेको वर्तमान सुशीला कार्कीको सरकारले भने दायाँबाँया गरेन। दायाँबाँया गराउन खोज्नेले कम्मर कसेरै अनेक यत्न गरे पनि त्यो प्रयत्न सफल हुन सकेन।
कार्की सरकारले वरिष्ठतालाई कैची नलगाएपछि प्रहरी र निजामती लयमा फर्किएको विश्लेषण गरिन थालेको छ। जसको शक्ति उसकैको पद भन्ने भाष्यलाई कार्की सरकारले भुत्ते पारिदिएपछि नियमितताले ठाउँ पाएको हो।
नेपाल प्रहरीका एआईजी दानबहादुर कार्कीलाई आईजीपी हुन बाट रोक्न अनेकै प्रयत्न भएका थिए। तर कार्की सरकारले एक नम्बरीलाई नै बढुवा गर्नाले कार्की छेक्ने काँडेतारको केही शिप चलेन। यता एकनारायण अर्याल ५८ वर्ष पूरा भएपछी रिक्त मुख्यसचिव पड्काउँ पनि केही सचिव ज्यान फालेरै लागेका थिए। तर, यता पनि एक नम्बरीले नै ठाउँ पाए।
निवर्तमान मुख्यसचिव अर्याल र योजना आयोगका सचिव गोकर्ण दुवाडी एकैदिन मंसीर १० मा घर जाने भएपछी त्यसपछिका वरिष्ठ सचिव सुमनराज अर्याललाई मंसीर ८ गते नै मुख्यसचिव नियुक्त गर्यो। सुमनले मुख्यसचिवको रुपमा कामकाज गर्न थालिसकेका छन्।
निजामती सेवाको उपल्लो तह मुख्यसचिव पड्काउँन श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले सक्ने जति गरेकै हुन्। अरू सबै दाहिना भएपनि कार्की सरकार देब्रे भएपछी उनको मुख्यसचिव सपनामा तातो पानि खन्याईएको छ। प्रधानमन्त्री कार्कीका पीए आदर्श श्रेष्ठको दौराको फेर समातेर अनेक गर्दा पनि पुस्करको केही लागेन। त्यति मात्र होइन मन्त्री अनिलकुमार सिन्हाले पनि पुस्करलाई बोकेकै हुन्।
डोटीका श्रेष्ठका ज्वाई पुस्करले आदर्श श्रेष्ठलाई ससुराली खलकको साईनो लगाएर सोडा हालेपनि त्यसले पनि काम गरेन। अघिल्ला मुख्यसचिव एकनारायणले पनि घुमाएर पुस्करलाई तगारो हालीदिए। सुमन अर्याल आगामी असार २६ सम्म मुख्यसचिव रहने र त्यसपछि पुस्करलाई मुख्यसचिव बनाउन सहयोग गर्ने एकनारायणको वचन छ। पुस्कर सचिव भएको आगामी असार २३ गते पाँच वर्ष पूरा हुन्छ। सुमनलाई एक महिना अघि राजीनामा गराएपछि पुस्कर त्यो बेला वरिष्ठ सचिव हुन्छन। वरिष्ठ सचिवको योग्यता देखाएर ८ महिनापछि पुस्कर मुख्यसचिव हुने दाउमै छन्। २०३१ सालमा जन्मिएका पुस्कारलाई उमेरले पनि पुरै साथ दिन्छ। यदि उनी आठ महिनापछि मुख्यसचिव भए भने पनि उनले मुख्यसचिवको तीन वर्षे कार्यकाल बिताउँदा उनी मात्र ५५ वर्षका हुनेछन्।