सोसल मिडिया
युनिकोड
निजामती सेवाको उपल्लो तहमा विराजमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। मुख्यसचिवको हैसियतमा आर्यालले काम गर्ने दिन अब एक महिना र केहि दिन मात्र छ। तिहार बिदा छठ र अन्य बिदा कटाउँदा अर्यालले मुस्किलले महिना दिन हाजिर गर्ने छन्।
अर्याल सँगै राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि मंसीर ९ गते नै घर जानेछन्। उनी गृहसचिव हुँदा भएको जेनजी आन्दोलन दबाउन मतियार बनेको आरोपमा दुवाडीमाथि गतिलै चार्ज लगाईने निश्चित छ। दुवाडी ५ वर्ष सचिव चलाएर मंसिर ९ गते घर जान लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले मंसिर १७ गते अनिवार्य अवकाश पाउँदैछन्। ५८ वर्षे उमेर हदका कारण उनको सोही दिनदेखि घर बसाई हुनेछ। विशिष्ट श्रेणीको ५ वर्षे सेवा अवधिका कारण पौष २८ गते घर जाने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले भदौ ८ गते नै राजीनामा दिएर हिंडेका छन्। सचिव सुवेदीले दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव हुँदा ‘भावी मुख्यसचिव हुँ भन्ने’ सुवेदी निर्वाचन आयोग हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा दोहोर्याएर पठाईएपछि चित्त दुखाएर राजीनामा दिन बाध्य भएको चर्चा चलेको थियो।
मुख्यसचिवको प्रवलदाबेदार रहेका सुवेदीले राजीनामा दिएपछि हालका मुख्यसचिव अर्याल मंसीर ९ गते घर गएपछिको वरिष्ठ सचिव रक्षा मन्त्रालयका सुमनराज अर्याल हुनेछन्। अर्याल माघ १८ गते सचिवको ५ वर्ष पूरा गरेर अवकाशमा जान्छन। उनलाई मुख्यसचिव बनाईए उनी ५८ वर्ष नपुग्दा सम्म र मुख्यसचिवको तीन वर्षे कार्यकाल नसकिएसम्म मुख्यसचिव रहन सक्छन।
अर्यालपछिको दोश्रो वरिष्ठ सचिव वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे हुन्। तर उनी मुख्यसचिव बन्ने सम्भावना छैन। ५८ वर्ष पुगेर उनी आगामी फागुन ९ गते घर जाँदैछन्। त्यस लगत्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल फागुन २३ गते अनिवार्य अवकाशमा जान लागेका छन् । उनी पनि ५८ वर्ष लागेर सरकारी सेवाबाट बिदा भएर घर जान लागेका हुन्। दुवै सचिव वरिष्ठ भए पनि ५८ वर्षे उमेरका कारण छोटो समयका लागि मुख्यसचिव बनाईने सम्भावना देखिंदैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी पनि चैत ८ गते अवकाश हुने सूचीमा छन्। उनी ५८ वर्षे उमेर हदका कारण २०८२ चैत ८ गते अनिवार्य अवकाशमा जानेछन्। पशुपन्छी विकास मन्त्रालयका सचिव दिपककुमार खराल चैत १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जान लागेका हुन्। चैत मसान्त (३० गते) नेपाल ट्रस्टका सचिव रामआधार साह पनि घर जाने सूचीमा छन्। २०८३ असार १६ गते खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अवकाश हुने सूचीमा छिन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी २०८३ असार २० गते र श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अवकाशमा जाने सूचीमा छन्। उनीहरू ५ वर्षे सेवा अवधि पूरा गरेर घर जाने सूचीमा देखिन्छन्। प्रशासन तर्फ सुमनराज अर्यालपछि बुर्लाकोटी र कर्ण वरिष्ठ सचिवको सूचीमा छन्। यी पनि मुख्यसचिवका प्रवल दावेदार हुन्।
कर्णपछिको वरिष्ठ सचिव लोकसेवा आयोगका किरणराज शर्मा हुन्। उनी २०७८ साउन ४ गते सचिवमा बढुवा भएका हुन्। उनी २०८३ साउन ३ गते सचिवको पाँच वर्षे कार्यकाल सकेर घर जानेछन्। उनी पनि मुख्यसचिवका प्रवल दाबेदार हुन्। शर्मा पछि पर्यटन मन्त्रालयका सचिव हरि प्रसाद मैनाली वरिष्ठ सचिवको सूचीमा छन्। उनी पनि सचिवको पाँच वर्षे कार्यकाल सकेर आगामी साउन १८ गते घर जानेछन्। उनी पनि मुख्यसचिव बन्न सक्नेछन्।
मैनालीपछिको वरिष्ठतामा जनसंख्या र प्रशासन हेर्ने स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्मा छन्। त्यसपछि प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ छन्। २०७८ भाद्र १६ गते सचिव बनेका उनी आगामी भाद्र १५ गते सचिवको पाँच वर्षे कार्यकाल सकेर घर जानेछन्। श्रेष्ठपछि सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ छन्। उनी सचिवको पाँच वर्षे कार्यकाल सकेर २०८३ असोज १८ गते घर जानेछन्।