सोसल मिडिया
युनिकोड
नयाँ सरकार गठन भएपछी सिंहदरबारबाटै कामकाज गर्ने गरि व्यवस्था मिलाईदै छ। सिंहदरबार जलिसकेकाले नारायणहिटीमा प्रधानमन्त्रीको कार्यालय राख्ने हल्ला चलिरहेका बेला मुख्यसचिव एकनारायण अर्यालले त्यसको खण्डन गर्दै सिंहदरबारमै प्रधानमन्त्री कार्यालय तयार पारिएको बताएका हुन्।
पुरानो गृहमन्त्रालयकै सम्मुखमा बनेको गृहमन्त्रालयको निर्माण सम्पन्न अत्याधुनिक भवनमा प्रधानमन्त्री कार्यालय रहने भएको छ। पुतलीसडक पट्टिको सिंहदरबार गेट नजिक पर्ने सो स्थान बाट अब देशको शासन चल्ने भएको हो।
सिंहदरबारभित्र राणाकालीन दरबारजस्तो गृह मन्त्रालयको आधुनिक भवन पाँचतले छ। हो यहि भवनमा अब प्रधानमन्त्री कार्यालय रहने छ। भवन बेसमेन्टसहित ६ तलाको छ। यसमा १५ जना अट्ने २ वटा लिफ्ट राखिएका छन्। सेवाग्राहीका लागि २ वटा भर्याङ र अत्यावश्यक अवस्थामा प्रयोग गर्ने छुट्टै भर्याङ छन्।
प्रधानमन्त्री, मुख्यसचिव र कर्मचारीका लागि १०० बढी कोठा छन्। सबै कोठामा एसी सिस्टम, फायर फाइटिङ सिस्टम, हिट एन्ड स्मोक डिटेक्टर सिस्टम छ। चौथो तलामा २०० क्षमताको सेमिनार हल छ। यसको बेसमेन्ट एरिया २४३७ वर्गमिटर छ। जसमा ४३ कार पार्किङ गर्न मिल्छ भने ८० मोटरसाइकल पार्किङ गर्ने सुविधा छ। ग्राउन्ड फ्लोरमा लाइब्रेरी, स्टोर, सर्भर रुम, खुल्ला लबीसहित ४० जना अट्ने बैठक कोठा छ।
अत्यावश्यक समयमा राति सुत्नका लागि समेत कोठा तयार भएको छ। आरसीसी फ्रेम स्ट्रक्चर प्रविधिबाट बनेको भवनमा ८ सामूहिक शौचालय छन्। जसमा पुरुष, महिला र अशक्त व्यक्तिलाई लक्षित गरिएको छ। यसबाहेक २४ वटा निजी शौचालय समेत छन्। ५८ करोड लागतमा भवन खडा भएको हो।