निजामती विधेयक भदौ १९ गते पारित गरिने, शिक्षा विधेयक २६ गते पारित हुने

बिहीबार, भदौ १२, २०८२

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ ।

सभामुख र प्रमुख सचेतकसँग छलफलका क्रममा संसद्को आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि बर्तौलाले सुनाए ।

निजामती विधेयक राष्ट्रिय सभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको बर्तौलाको भनाइ छ ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्