राज्यले सौतेनी व्यवहार गरेका करारका कर्मचारीलाई अदालतले दियो अभयदान

सोमबार, भदौ २, २०८२

राज्य बाट सौतेनी ब्यबहार खेप्दै आएका अस्थायी र करारका कर्मचारीहरूले अभयदान पाएका छन्। सर्वोच्च अदालतले अस्थायी र करारका कर्मचारीहरूलाई पनि महंगी भत्ता उपलब्ध गराउन परमादेश जारी गरेपछि सरकारलाई बल्ल तातो लाग्ने भएको हो। 

न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको आज सोमबारको इजलासले करारका कर्मचारीहरूलाई पनि महंगी भत्ता उपलब्ध गराउन परमादेश दिएको हो। एकीकृत सरकारी कर्मचारी संगठनको तर्फबाट उपाध्यक्ष श्यामप्रसाद सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिट गत असार १६ गते दायर भएको थियो। रिट निवेदनमा कर्मचारीहरूले आफूहरूलाई विभेद गरिएको जिकिर गरेका थिए।

रिट निवेदकहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संसद सचिवालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

सरकारले २०८२/०८३ को बजेट भाषणमार्फत तलब वृद्धि नगरी महंगी भत्तालाई पाँच हजार रुपैयाँ पुर्‍याएको थियो। तर करार सेवाका कर्मचारीलाई भत्ता दिने गरिएको थिएन। परमादेश संगै अब करारका कर्मचारीले महंगी भत्ता ५ हजार पाउने भएका हुन्। 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्