कुलिङ पिरियड नै नराख्न यसरी मिलाइदैछ तारतम्य, १६ दिनमै काम तमाम

सोमबार, भदौ २, २०८२

प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्ने प्रावधानबाट नेकपा एमाले पछि हटेको छ ।

राष्ट्रियसभाअन्तर्गको विधायन समितिमा निजामती सेवा विधेयकमाथीको छलफलमा एमाले कुलिङ पिरियड हटाउने पक्षमा देखिएको हो । प्रतिनिधि सभाका आफ्नै पार्टीका मन्त्रीको प्रस्ताव र समर्थनमा कुलिङ पिरियड दुई वर्ष राख्न सहमति गरेको एमालेले राष्ट्रिय सभामा विधेयक पुगेपछि भने फरक अडान राखेको हो । 

कुलिङ पिरियड हटाउन संशोधन हालेकाहरूसँग समितिले साेमबार गरेको छलफलमा एमालेका सांसदहरूले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनिरहेकाले कुलिङको व्यवस्था पनि त्यही विधेयकमा राख्नुपर्ने बताएका छन् । 

यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको विधेयकमा त्रुटि भएको भनेर एमाले छानबिन समिति बनाउन सहमत भएको थियो । छानबिन समितिले पनि विधेयकमा त्रुटि भएको निष्कर्ष निकालिसकेको छ । तर अहिले पूर्वसहमतिविपरित एमाले कुलिङ अफ पिरियड नै नराख्ने अडानमा देखिएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र विपक्षी दलहरू भने प्रतिनिधि सभाबाट भएको त्रुटि सच्याउनुपर्ने अडानमा छन् । समितिमा सहमति नभए मतदानबाटै यसको टुंगो लगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

विधायन समितिले आजदेखि निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरू गरेको छ भने संशोधनकर्ता सांसदहरूसँग पनि छलफल गरेको छ । यही भदौ १८ गतेसम्म निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरण नै भइसक्नुपर्ने छ । 

प्रतिनिधिसभाबाट आएको विधेयक ६० दिनभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार अब समितिलाई १६ दिनको समय छ । यो अवधिभित्र समितिले सहमति गराउन सकेन भने त्रुटिपूर्ण विधेयकले नै मान्यता पाउनेछ । सत्तारूढ दलकै सांसदहरू विभाजित बनिरहँदा यो विधेयक समयमै सकिनेमा भने आशंका बढेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्