बिचौलिया र कर्मचारीलाई भिजिट भिसा सेटिङमा बन्ध्याकरण गर्दै अध्यागमन विभाग

आइतबार, भदौ १, २०८२

बहुचर्चित भिजिट भिसाले गिजोलिएको अध्यागमन विभाग विस्तारै लयमा फर्किदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा विदेश यात्रा गर्दा बुझाउनुपर्ने कागजातसम्बन्धी नियम परिमार्जन गरेर विभागले कसिकसाउ गर्ने भएको हो ।

अध्यागमन विभागले मापदण्ड परिमार्जन गर्न लागेको र यसको कारण बिचौलिया र कर्मचारीको चलखेल रहेको निचोड पनि निकालेको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्ने नियम परिमार्जन गर्न लागिएको हो।

२०८० माघ १० बाट लागु गरिएको ‘मापदण्ड’ परिमार्जन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताएका हुन् । मापदण्डका नाममा भ्वाङ पारेको ठहर सहित त्यसको प्रतिस्थापन गरिने भएको हो ।

तत्कालीन गृहमन्त्री स्तरीय निर्णयले लागु गरिएको मापदण्डमा भिजिटमा विदेश जाँदा दुई तर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभर होटल बुकिङ्ग गरेको प्रमाण देखाउनुपर्छ ।

मापदण्ड अनुसार कम्तीमा ६ महिना वैध भएको राहदानी, सम्बन्धित देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेषाज्ञा नचाहिने व्यवस्था छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्छ । युएई, बहराइन, कुवेत, कतार ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वः घोषण गर्नुपर्ने मापदण्ड छ ।

त्यस्ता कागजात सर्वसाधारणले सहज रूपमा बनाउन सक्दैनन् । तर, बिचौलियाहरू र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा त्यही मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाउँदै आएको आरोप छ ।

अब गृहमन्त्री स्तरीय निर्णय बाट नयाँ मापदण्ड जारी हुनेछ । त्यसका लागि अध्यागमन विभागका डिजी तिवारीले मुख्यसचिवलाई व्रिफिङ गरिसकेका छन् भने गृहमन्त्री रमेश लेखकको पनि कान फुकिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्