ओलीले विदेशबाटै फोन गरेपछि देउवाले तीन भाईलाई डाके, मन्त्री हेरफेर निश्चित

शुक्रबार, साउन २३, २०८२

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्तीका लागि प्रस्थान गरे लगत्तै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। 

तुर्कमेनिस्तान भ्रमणमा जानु अघि ओलीले देउवालाई सरकारका मन्त्री हेरफेर गर्ने जानकारी गराएका थिए। ओली आफ्नो सरकारको काँचुली फेरेर सरकारलाई थप चलाएमान बनाउने योजनामा छन्। जसका लागि उनी मन्त्री फेर्ने योजनामा पुगेका हुन्। कांग्रेस सभापति देउवा मन्त्री फेर्ने पक्षमा नभए पनि ओलीको आग्रहमा मन्त्री हेरफेर गर्ने तहमा पुगेका हुन्।  त्यसैको छलफलका लागि उनले तीन नेतालाई निवासमा डाकेका हुन्। 

आफ्नो निवास बुढानीलकण्ठमा देउवाले पार्टी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको विषयमा के गर्ने भन्ने विषय र मन्त्री हेरफेरको विषयमा छलफल गर्न तीन भाईलाई डाकेका हुन्। 

खतिवडालाई ‘कुलिङ अफ पिरियड’ मा राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाले पास गरेको व्यवस्था निष्क्रिय पार्ने वाक्यांश परेको विषयमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार भएको ठहर गरेको छ ।

छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने आवाज सत्तारुढ दल नेकपा एमाले र विपक्षी दलका नेताहरूले गर्दै आएका छन् । तर, खतिवडाले भने छानबिन समितिले निर्णय गरेकै दिन पार्टी नेतृत्वसँग सल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने तय गर्ने बताएका थिए । 

बैठकमा कार्यसम्पादन समितिको बैठक बोलाउनेबारे छलफल भएको छ। ओली आजै राति स्वदेश आईपुग्ने कार्यक्रम छ।  सम्भवत ओली र देउवाको भोलि शनिवार भेट हुनेछ। त्यसपछि ओलीले केही मन्त्री हेरफेर गर्ने भएका छन्। 

श्रम मन्त्री शरदसिङ्ग भण्डारीलाई बिदा गरेर सर्वेन्द्रनाथ शुक्लालाई सो मन्त्रालय दिने पक्का छ। त्यस्तै खानेपानी मन्त्री प्रदीप यादवलाई पालो दिन वीरेन्द्र महतो तम्तयार छन्।  महिला मन्त्रालयका पुरुष मन्त्री नवल किशोर साहलाई विस्थापित गरेर महिला नै मन्त्री बन्न रन्जु झा तैनाथी अवस्थामा छिन्। 

यी बाहेक एमाले र काँग्रेसका केही मन्त्रीले सुबिस्ता पाउने भएका छन्। एमालेका शिक्षा मन्त्री, अर्थ मन्त्री र सामान्य प्रशासन मन्त्री बाहेकका अन्य मन्त्रीले झण्डा गुमाउनु पर्ने छ। कांग्रेसका दुई जना बाहेकका अन्य मन्त्री हेरफेर हुन सक्ने सम्भावना छ। त्यसैका लागी देउवाले तीन नेतालाई निवासमा डाकेका हुन्। श्रोतका अनुसार ओलीले विदेश बाटै देउवालाई टेलिफोन गरेपछि उनले बैठक डाकेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्