प्रधानमन्त्री ओली यसरी फेर्दैछन् सत्ताको काँचुली

मंगलबार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष शुरु भएको सातादश दिनमै आफ्नो सरकारको लिपपोत गर्ने भएका छन्। मौजुदा सरकारका मन्त्रीले मनलाग्दी काम गर्न थालेपछि मुर्मुरिएका ओलीले नयाँ मन्त्री सामेल गराएर एक लट मज्जैले सरकार चलाउने योजना बनाएका हुन्। 

प्रधानमन्त्री ओलीले आफू अनूकुल सरकार चलाउन कांग्रेस सभापति शेर बहादुर देउवाको ग्रीन सिग्नल पनि पाएका छन्। यसो हुँदा ओलीले कांग्रेस र एमालेले पठाएका एकाध बाहेक सबैलाई बिदाबारी गर्ने भएका हुन्। त्यसो त त जसपा नेपालका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवल किशोर सुडीको मन्त्री हुने अवधि सकिएको दुई महिना अघि नै हो।

उपेन्द्र यादवको पार्टी फुटाएर जन्मिएको नयाँ दलका मन्त्रीको पार्टीले तोकेको आन्तरिक अवधि सकिएको छ। पालो सिस्टममा मन्त्री हुने सांसद खुट्टा उचालेर बसेका छन्। उनीहरुको बाध्यतालाई सम्बोधन गर्नुपर्ने अवस्थामा रहेका ओलीले एकै लट मन्त्री हेरफेर गर्ने भएका हुन्। 

उपेन्द्रको पार्टी विभाजनपछि बनेको अशोक राई नेतृत्वको पार्टीबाट अब खानेपानी मन्त्रीमा वीरेन्द्र महतो र महिला मन्त्रीमा रन्जु झा हुने भनिएको छ। तर, अध्यक्ष राईले पत्नी शुशीला श्रेष्ठलाई मन्त्री बनाउने तारतम्य मिलाउँदैछन्। 

कांग्रेस र एमाले मिलेर सरकार बनाएको वर्ष दिनको छेको पारेर ओलीले नयाँ मन्त्रीलाई सरकारमा हुल्ने सोच बनाएको एमालेका एक पदाधिकारीको तर्क छ। बजेटमाथि छलफलका क्रममा पनि मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई सत्ताधारी सांसदले नै सुझाव पनि दिएका थिए। 

एमाले महासचिवलाई दिएको मन्त्रालयका मन्त्री फेर्न ओलीलाई अलि पहिल्यै बाट जाँगर चलेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी एमाले महासचिव शंकर पोखरेलका भित्रिया हुन्। महासचिवका भित्रिया मन्त्री अधिकारीले प्रधानमन्त्रीकै नातेदारलाई सरुवामा सुताएको र आर्थिक खेल गरेको भरपर्दो सूचना ओलीले पाएपछि उनलाई कपिलबस्तुतिरै पठाउन ओलीलाई रुची जागेको एक जानकारले तोकादेशलाई बताए। हुन पनि मन्त्री अधिकारी पछिल्ला दिनमा छाडा पारामै चलखेलमा लिप्त भएको मन्त्रालयमै चर्चा हुने गरेको छ। 

माओवादी एमालेको गठबन्धनदेखि नै निरन्तरता पाएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षित परिणाम नदिएको भन्दै एमालेभित्र आलोचना भइरहेको छ । एमाले संगै नजिक रहेका सचिव गोबिन्द कार्की भण्डारीलाई झेल्न नसकेपछि प्रधानमन्त्री कार्यालयमा सरुवा भएर गएका छन्। भोजपुरे कार्की बैतडीका मन्त्री भण्डारीको ढंग नदेखेरै वाणिज्य सचिव छोडेर ओलीको अड्डामा पुगेका हुन्। ती भण्डारी पनि ओलीले फेर्ने मन्त्रीको सूचीमा अगाडी नै छन्। 

सुपारी काण्डले गर्दा ओलीको नजरमा सुपारी जत्रै भएका भण्डारीले पनि अब बिदा पाउने भए संगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिदा पाउने टुंगो लागेको छ।  निजामती विधेयकको विषय र कर्मचारी सरुवामा दाम असुली गर्नु उनीमथिका अयोग्यता हुन्। 

एमालेबाट मन्त्री भएका सबैलाई फेर्ने सोचमा ओली भएपनि अन्तिममा केही भने रहन सक्ने सम्भावना भएको बताएको छ। शिक्षा मन्त्री रघुजी पन्त आलै मन्त्री भएका कारण र सन्तुलन मिलाउने पर्ने भएको खण्डमा अर्थमन्त्री भने ओलीले नचलाउने बुझिएको छ। 

यता, कांग्रेसमा परराष्ट्रमन्त्री आरजु राणाबाहेक सबै मन्त्री परिवर्तन हुने सम्भावना छ ।

यद्यपि, केही मन्त्री भने आन्तरिक समीकरणका कारणले पनि जोगिने सम्भावना छ । सबैभन्दा बढी विवादमा आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का शंशाक कोइरालाको कोटाबाट मन्त्री भएका कारण उनी सुरक्षित हुने प्रयासमा लागेका छन् । कोइरालाले खड्काको विकल्प आफू संग नभएको व्यहोरा देउवालाई सुनाईसकेका छन्। 

बजेटमा पक्षपात गरेको भन्दै सबैभन्दा बढी आलोचना भएका कांग्रेसबाट उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह पनि रेडजोनमा रहेको नेताहरू बताउँछन् । सिंहको त संसदमा नै कांग्रेसकै सांसदहरूले चर्को विरोध गरेका थिए । सिंह आफूले निरन्तरता नपाए आफ्नो समूहका सांसद राजन केसीलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक सबैभन्दा बढी आलोचना खेपिरहेका छन् । तर उनी हट्ने संभावान कम रहेको छ ।

कमजोर मन्त्रीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहेका छन् । उनले समय तोकिएको दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न सकेनन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार कांग्रेस नेता अफताम आलमलाई उच्च अदालत वीरगञ्ज इजलासबाट सफाइ दिने कुरामा जोडिएपछि कांग्रेसभित्र मात्र होइन बाहिर पनि उनको खुब आलोचना भैरहेको छ । स्वस्थ्यमन्त्री प्रदीप पौडेललाई हटाएर जीवन परियारलाई मन्त्री बनाउने मेलोमेसो मिलाईएको छ। 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही भने थमौतीमा पर्न सक्ने सम्भावना छ। अधिकारी शेखर कोटा बाट र शाही पूर्ण बहादुर खड्काको कोटा बाट मन्त्री भएका हुन्। केहीलाई राखेर नयाँ पठाउने भन्ने भएको खण्डमा रहन सक्ने तर सबै परिवर्तन गर्ने भन्ने खण्डमा भने सबै हेरफेर हुने बुझिएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्