सोसल मिडिया
युनिकोड
पञ्चायतदेखि गणतन्त्रसम्मका व्यवस्थाले पत्याएका पात्र शरत सिंह भण्डारी लाई एकजना सचिवले अल्ल्याएका छन्।
जति बेला भण्डारी पहिलो पटक मन्त्री भए त्यो बेला अहिले उनले सम्हालेको श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर महोत्तरीमा कट्टु लगाएर कुद्दै थिए।
प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा २०४३ सालमै वाणिज्य राज्यमन्त्री भएका भण्डारी महोत्तरीको खातापिता परिवारमा जन्मिएका थिए।
भण्डारी पहिलो पटक मन्त्री हुँदा सचिव पुष्कर जम्मा १२ बर्षका मात्र थिए। महोत्तरीको सुगामा २०३१ साउन १३ गते बुबा शवकुमार लाल र आमा शुशीलाको कोखबाट जन्मिएका पुष्करले २०५३ सालदेखि निजामती सेवामा योगदान दिन थालेका हुन्।
भण्डारी पहिलो पटक मन्त्री बनेको ठ्याक्कै दश बर्ष पछि पुष्कर सरकारी सेवामा प्रवेश गरेका हुन्।
अहिले एकै जिल्ला महोत्तरीका मन्त्री भण्डारी र सचिव पुष्कर बीचको लफडा सतहमा आएको छ।
दोस्रो पटक श्रम मन्त्री बनेका भण्डारी र श्रम मन्त्रालयको गुदी बुझेका पुष्करको नोकझोँकको बिउ भनेकै एक थान गाडी हो।
पंचायतदेखि गणतन्त्र सम्मकै सत्ताको स्वाद लिएका भण्डारीले आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरकी एक्ली छोरी मिनाक्षी ठाकुर झा लाई मन्त्रालयको गाडी दिए पछि इगो बढेको हो।
हुन त मिनाक्षी बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सदस्य पनि हुन्। तिनै ठाकुरले चारमहिना यतादेखि गाडी हडपेपछि सचिवले गाडी खोज्न गृह मन्त्रालय गुहारेका हुन्।
गाडी खोज्न पत्राचार गरेपछि मन्त्री भण्डारीको सचिवालयले मन्त्रालयमा गाडी ल्याइसकेको छ। आफू अनुकूल काम नगरेको भन्दै भण्डारीले पुष्करको सरुवा गराउन खोजेको दुई महिना वितिसकेको छ। मुख्यसचिव दाहिना हुनु र प्रधानमन्त्रीले पनि धाप मारेपछि भण्डारी सचिवका सामुन्ने निरिह बनेका हुन्।
उक्त गाडी श्रममन्त्री भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरलाई प्रयोग गर्न दिएर चाकडी गरेका थिए। त्यहि बुझेर आफ्नो सरुवा गराउन लागि परेका भण्डारीलाई सचिव पुस्करले सवक सिकाएका हुन्। नभन्दै चिठी लेखेको दुई दिनपछि उक्त गाडी श्रम मन्त्रालयमा आइपुग्यो।
पछिल्लो समय मन्त्री भण्डारी र सचिव पुष्करबिच मनमुटाव छ। ‘यही कारणले गाडी महन्थले प्रयोग गरेको थाहा पाउँदापाउँदै पनि गाडी खोजिदिन भन्दै पुष्करले चिठी लेख्न लगाएका थिए। पुस्करको चिठीले पंचायतदेखिकै मन्त्री भण्डारी ठाउँमा आएको मन्त्रालयकै उच्च श्रोतको दाबी छ।