सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक-२०८० असार १५ गतेसम्म पारित गर्ने तयारी गरेको छ। समितिबाट विधेयक पास गर्नका लागि असार १४ गते बिहान उपसमिति र दिउँसो समितिको बैठक बोलाइएको छ।
उपसमितिको प्रतिवेदनमाथि छलफल सक्न अहिले समितिको बैठक बस्ने तरखरमा छ। १ बजेका लागि बोलाईएको बैठक बस्न लागेको हो।समितिका सभापति अम्मरबहादुर थापाले विधेयक पारित गर्ने अन्तिम प्रयास भइरहेकाले सकेसम्म आजै, नभए पर्सीभित्रै पास गरिने जानकारी दिए।
बुधबार दिनभर उपसमितिको बैठक बसेर विधेयकका विवादित बुँदामा सहमति जुटाउने प्रयास गरिएको थियो। समितिका अनुसार केही विषयमा सहमति भइसकेको छ भने बाँकी बुँदामा आज टुंगो लगाईने उनको भनाई छ।
शिक्षा समितिका एक सदस्यका अनुसार विधेयक संसद् लैजान चौतर्फी दबाब बढिरहेको छ। विशेषगरी नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयनको विषयमा समितिमाथि ठूलो दबाब रहेको छ।
शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते असार १५ भित्र विधेयक संसद् पुर्याउने सहमति भएको थियो। उक्त सहमतिलाई कार्यान्वयन गराउन दबाबस्वरूप महासंघले चैत २० देखि २९ गतेसम्म शैक्षिक हड्ताल गर्दै आन्दोलन पनि गरेको थियो।
विधेयकमा निजी विद्यालयको व्यवस्थापन, प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) र शिक्षक सेवा सुरक्षाका विषय सबैभन्दा विवादास्पद बनेका छन्। यी विषयमा सहमति जुटाउन शिक्षा समितिका सदस्यहरू प्रयासरत छन्। आजको बैठकले सबै कुरा मिलाएर असार १४ गते संसदमा टेबुल गर्ने समिति श्रोतको भनाई छ।