महिला न्यायाधीशले नमूना बनेको हेटौडा महिला सिडिओका कारण यसरी भयो बद्नाम

आइतबार, असार ८, २०८२

वागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको हेटौडा यतिबेला दुई कुराले केही चर्चित बनेको छ। हेटौडा चर्चित हुनुका दुई कारण महिला बनेका छन्। कसरी महिलाका कारण हेटौडा चर्चित भन्यो ? केही चासो पर्न सक्नु स्वाभाविक हो। तर, भएकै छ त्यस्तो। 

मकवानपुरको हेटौँडामा उच्च अदालत पाटनको अस्थायी इजलास छ। जहाँ ६ जना न्यायाधीश नै महिला छन्। न्यायाधीशहरू यमुना भट्टराई, शान्ता सेढाईं सापकोटा, शकुन्तला घिमिरे, मीना गौतम सेढाईं, निर्मला पौडेल र सानुमाया डंगोल अहिले हेटौँडा इजलासमा कार्यरत छन्। त्यहाँ छ जनाकै दरबन्दी रहेको छ। जहाँ सबै महिला नै छन्। 

नेपालमा ७ वटा उच्च अदालत छन्। जसमा अस्थायीसमेत गरी १८ वटा इजलास छन्। उच्च अदालत पाटनको हेटौँडा इजलास मात्रै यस्तो इजलास हो, जहाँ सबै न्यायाधीशसहित महिला कर्मचारीहरू मात्रै ३० जना छन्। ६ जना न्यायाधीश सहित ५३ जना कर्मचारी रहेको यहाँ पुरुषको संख्या २३ जना छ।

एकातिर न्यायाधीश महिला भएर नमुना भएको छ भने अर्कातिर मकवानपुरको सिडिओ पनि महिला नै छिन्। माईती जिल्लामा सिडिओ चलाउन पुगेकी सहसचिव स्किम श्रेष्ठले पारा देखाएको भन्दै विरोध भएको छ। 

कर्मचारी र सेवाग्राहीमाथि दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीका सिडिओ वेदप्रसाद खरेललाई कारवाही स्वरूप मन्त्रालय ताने पनि स्किमलाई भने छुन सकेको छैन। सञ्चारकर्मी र जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने मकवानपुरकी सिडिओ स्किमको विरोधमा सिंगो मकवानपुर लागेको छ।

स्किमलाई गृह मन्त्रालयले सिडिओ सरूवा सम्बन्धी कार्यविधिविपरीत गृहजिल्ला मकवानपुरको सिडिओ बनाएर पठाएको हो। प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ विपरीत आफ्नै गृह जिल्लाको सिडिओ बनाएर पठाएको हो। उक्त कार्यविधिमा अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरूवा वा काजमा खटाइने छैन भन्ने उल्लेख छ। हटिया-९ मकवानपुरमा जन्मिएकी स्किमलाई गृह मन्त्रालयले मकवानपुरकै सिडिओ बनाएर पठाएको हो। 

स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर पठाईएका सबैलाई गृहमन्त्रालयले फिर्ता गरिसकेको छ। अहिले कार्यविधिविपरीत सिडिओ चलाउनेमा स्किम मात्रै छिन्। 
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्