सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरे पनि भक्तपुरको सूर्यविनायकका मेयर बासुदेव थापा आनन्दले दैनिक कामकाज गरिरहेका छन्। मुद्दा दायर भएसँगै थापाको मेयर पद स्वत:निलम्बित हुनु पर्ने हो। तर उनको हकमा त्यो लागू भएको छैन। जग्गा जफत गर्ने प्रयोजनमा उनी सहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्दा दायर गरेपनि उनी निलम्बित हुनु त कता हो कता उपरखुट्टी लगाएर काम गरिरहेकै छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर हुनेबित्तिकै निलम्बन हुने कानूनी व्यवस्थाले मेयर थापालाई किन छोएन ? चासोको विषय बनेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ मा भ्रष्टाचार मुद्दा दर्ता हुनेबित्तिकै सार्वजनिक पद निलम्बन हुने व्यवस्था छ। जग्गा जफतका प्रतिवादीलाई स्वत निलम्बन हुने व्यवस्थाले नछुनाले संशय बढेको छ।
हुन पनि थापा एमालेका तर्फबाट मेयरमा निर्वाचित व्यक्ति हुन्। अहिले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। पतञ्जलीको हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेका मेयर थापालाई भ्रष्टाचारको अभियोग लागेको छ तै पनि मेयरकै हैसियतमा काम गरिरहेका छन्। साँगामा पतञ्जली हदबन्दी भन्दा बढी खरिद गरेको साढे ७ रोपनी जग्गा थापाको नाममा भेटिएपछि थापा भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका हुन्। यहि काण्डमा मुद्दा दायर भएपछी पूर्व प्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालको सांसद पद निलम्बित छ।