सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखकले केही सिडिओलाई यताउता पारेका छन्। मन्त्री लेखकले एकै दिन सिडिओ भएका भरतमणि पाण्डे र रूद्रादेवी शर्मालाई काखा र पाखा गरेका छन्। शर्मा र पाण्डे २०८१ जेठ १६ गते एकैदिन बर्दिया र कास्कीको सिडिओ भएर गएका थिए।
लेखकले बर्दियाको प्रमुख जिल्ला अधिकारी रहेकी शर्मालाई कास्की जिल्ला जिम्मा लगाएका छन् भने कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयको बरण्डा रुग्ने टोलीमा मिसाएका छन्। उता, बर्दियाको सिडिओको जिम्मा गृह मन्त्रालयको बरण्डामा तीन महिना सम्म लगातार फन्को मार्दै आएका सुरेन्द्र पौडेलले पाएका छन्।
कास्कीको सिडिओ भएकी शर्माले रामेछाप, गुल्मी, भक्तपुर काभ्रेपलाञ्चोकलगायतका जिल्लाको सिडिओ भएर काम गरिसकेकी छिन्। कास्कीको सिडिओबाट गृह मन्त्रालय फिर्ता भएका सहसचिव पाण्डे पनि मकवानपुर, चितवन, रुपन्देहीको सिडिओ भइसकेका छन्।
त्यस्तै, धनुषाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता भएका रामुराज कडरिया झन्डै साढे १४ महिना सिडिओ चलाएर गृह मन्त्रालय फिर्ता भएका छन्। २०८० चैत ८ गते सिडिओको जिम्मेवारी सम्हालेका कडरिया गृहबाट ‘आउट’ हुन खोजेका छन्। धनुषाको सिडिओमा भने झन्डै साढे दुई महिनादेखि गृहको बरण्डामा ‘सुसेल्दै बसेका’ शंकरहरि आचार्यलाई पठाइएको छ। सुर्खेतको सिडिओ रहेका आचार्य चैत पहिलो हप्ता गृह मन्त्रालय फिर्ता भएका थिए।
यता,विष्णुप्रसाद कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालय आएपछि रिक्त रहेको पाँचथरको प्रमुख जिल्ला अधिकारीमा अरूण पोखरेललाई पठाइएको छ। नवलपरासी (पूर्व)बाट साढे २ महिना अगाडि गृह मन्त्रालयको जगेडामा तानिएका पोखरेलले पाँचथर चलाउने अवसर पाएका छन्।
गृह मन्त्रालयमा ४ महिनादेखि बार्दलीमै डुल्दै गरेका सहसचिव प्रेमप्रसाद भट्टराईमाथि मन्त्री लेखकको नजर परेकै छैन। उनी मोरंगको सिडिओ बाट तानिएका काविल प्रशासक हुन्। श्रोतका अनुसार उनी गृहमन्त्रालय बाट बाहिरिने पक्षमा छन्। त्यस्तै सहसचिवहरू बासुदेव घिमिरे,नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, सुनिता नेपाल, बुद्धबहादुर गुरुङ, लालबाबु कवारी अझै गृहमै फन्को मार्दै बसेका छन्। अध्यागमनबाट तानिएका बहुचर्चित सहसचिव तिर्थराज भट्टराईले पनि मन्त्रालयमै हाजिर गर्दै टाप कस्नु परेको छ।
अवधि पुगिसकेका रोल्पाको सिडिओ खिमबहादुर रायामाझी, भोजपुरको सिडिओ नरबहादुर थापा, ईलामको सिडिओ कल्पना श्रेष्ठ तिर गृहमन्त्रीको नजर परिसकेको छैन।