विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न अमेरिकाको आदेश

बुधबार, जेठ १४, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने विदेशी विद्यार्थीलाई सामाजिक संजाल जाँच गर्न अनिवार्य बनाउने तयारी गरेको छ । यसमा यसअघिको भन्दा कडाइ गर्ने तयारी रहेको अमेरिकी अखबार पोलिटिकोले प्राप्त गरेको कागजातले खुलासा गरेको छ ।

यस्तो अनिवार्य जाँचको व्यवस्था मिलाउने तयारीका लागि ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मार्को रुबियोले हस्ताक्षर गरेका छन् ।

ट्रम्प प्रशासनले यो योजना कार्यान्वयन गरेमा यसले विद्यार्थी भिसा प्रक्रियालाई ढिलो बनाउने बताइएको छ । अमेरिकामा विश्वविद्यालयहरूको आर्थिक अवस्था विदेशी विद्यार्थीमा निर्भर भएकाले यो निर्णयले धेरै विश्वविद्यालयहरूलाई पनि असर गर्नसक्ने समाचारमा बताइएको छ ।

पोलिटिकोले प्राप्त गरेको कागजातमा भनिएको छ, “तत्काल प्रभावकारी रूपमा अनिवार्य सामाजिक संजाल जाँच र भेटिङ विस्तारको तयारीका लागि कन्सुलर सेक्सनहरूले अर्को आदेश जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज भिजिटर भिसाको अतिरिक्त अपोइन्टमेन्ट क्षमता नथप्नुहोला । केही दिनमा यो  आदेश आउने अपेक्षा गरिरहेका छौँ ।” 

ट्रम्प प्रशासनले पहिले नै केही सामाजिक सञ्जाल जाँच गर्ने नियम लागु गरिसकेको छ । तर ती प्रायः गाजामा इजरायली कदमहरूविरुद्ध प्रदर्शनमा सहभागी भएका विद्यार्थीमा केन्द्रित थियो । पोलिटिकाका अनुसार भविष्यमा सामाजिक सञ्जाल जाँचले के खोज्ने हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर, यसले आतंकवादीहरूलाई र यहुदीविरोधी भावना रोक्ने कार्यकारी आदेशप्रति लक्षित रहेको संकेत दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका धेरै अधिकारीहरूले पहिलेको आदेश अस्पष्ट भएकाले केही महिनादेखि व्यक्तिगत रूपमा यस्तो उजुरी गर्दै आएका थिए । उदाहरणका लागि एक्स खातामा प्यालेस्टिनी झण्डाको तस्बिर पोस्ट गर्ने विद्यार्थीलाई थप जाँचबाट गुज्रन पर्छ कि पर्दैन भन्ने कुरा स्पष्ट थिएन ।

ट्रम्प प्रशासनले विभिन्न नियमहरू प्रयोग गरेर हार्वर्डजस्ता प्रतिष्ठित संस्थागायत विश्वविद्यालयहरूमा लक्षित गरेको छ । ट्रम्प प्रशासनले यस्ता प्रतिष्ठित संस्थाहरू धेरै उदार भएको र  तिनीहरूले आफ्ना क्याम्पसहरूमा यहुदीविरोधी भावना बढाउन दिएका आरोप लगाउँदै आएको छ । यसले अप्रवासी विरोधी कारबाहीहरू पनि गरिरहेको छ । जसका कारण धेरै विद्यार्थीलाई प्रभावित पारेको छ ।

यसबारेमा टिप्पणी माग्दा विदेश मनत्रालयका प्रवक्ताहरूले तत्काल जवाफ दिएनन् । यो खबरले उच्च शिक्षाको तयारीमा रहेकाहरूमा निराशा फैलाएको छ । विदेशी विद्यार्थीको हितमा अभियान चलाउने समूह एसोसिएसन अफ इन्टरनेसनल एजुकेटर्सले यो निर्णयको निन्दा गरेको छ । समूहका सीईओ फान्टा आवले भनिन्, “यसले मिहिनेती विद्यार्थीमा अन्यायपूर्ण रूपमा दोषारोपण गरेको छ ।”

उनले दूतावासहरूसँग समय, क्षमता र करदाताको पैसा खर्च गर्ने योजना नै समस्याजनक भएको बताएकी छन् । “अन्तर्राष्ट्रिय विद्यार्थी यस देशका लागि खतरा होइनन्, बरु यी यस देशका अमूल्य सम्पत्ति हुन्,” उनले भनेकी छन् । 

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मालिक मेटाले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । गुगल, स्न्याप, एक्स, टिकटक, डिस्कोर्ड, ब्लुस्काई र रेड्डिटजस्ता अन्य प्लेटफर्महरूका प्रवक्ताहरूले पनि यो नीतिबारे प्रश्नहरूको उत्तर दिएका छैनन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्