गृहमन्त्री र सचिवको जोडीले सुशासनमा यसरी लगाए खिया, गौंडा गौंडामा गडबढी

सोमबार, जेठ १२, २०८२

भिजिट भिसा काण्ड मच्चाउने विवादित सहसचिवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको जिम्मेवारी दिने गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी कुशासनका पर्याय मानिन्छन्। झन्डै एक दर्जन सहसचिवलाई मन्त्रालयको जगेडामा राखेर सहसचिवको दरबन्दी उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएका हुन्।

गृहमन्त्री लेखक र सचिव दुवाडी ‘सुशासनका नमूना’ जोडी सहसचिवको दरबन्दी रहेका डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओ खटाएको छन्। शक्तिशाली उपसचिवलाई च्यापेर गृहमन्त्री लेखक र सचिव दुवाडीले निरीहता देखाएका हुन्।

गृहमन्त्री लेखक र सचिव दुवाडीले उपसचिव चोमेन्द्र न्यौपालाई भदौ २४ गते सहसचिवको दरबन्दी भएको डडेल्धुरा सिडिओ खटाएका छन्। जुम्लाको सिडिओमा उपसचिव रामबहादुर शाही असोज ९ हाजिर भएका थिए।

सहसचिव कै दरबन्दी रहेको डोटीको सिडिओमा उपसचिव मोहनराज जोशी र बैतडीको सिडिओमा उपसचिव दिर्घराज उपाध्याय कार्तिक १२ गते हाजिर भएका थिए। पुस २८ गतेदेखि उपसचिव सावित्रा पुन सल्यानको सिडिओको भूमिकामा छिन्। यी सबै सहसचिवको दरबन्दी भएका जिल्ला हुन्। तर, गृहमन्त्री लेखेक र सचिव दुवाडीले उपसचिवलाई सिडिओ बनाएर सहसचिवलाई मन्त्रालयको जगेडामा राखेका छन्।

चौतर्फी आलोचनापछि सहसचिवको दरबन्दी रहेको अछाम, प्युठान, अर्घाखाँची, दैलेख र रामेछापबाट उपसचिव सिडिओलाई किस्ताबन्दीमा झिकेका थिए। सहसचिवको दरबन्दी रहेको डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओ खटाएर गृहमन्त्री लेखक र सचिव दुवाडीले सुशासनको खिल्ली उडाएका छन्। गृह मन्त्रालयको बरण्डामा झन्डै एक दर्जन सहसचिव ‘घाम तापिरहँदा’ गृहमन्त्री लेखक र सचिव दुवाडीले सहसचिवको दरबन्दी उपसचिवलाई सिडिओ खटाएर कुशासनलाई प्रश्चय दिएका हुन्।

गृह मन्त्रालयको बरण्डामा सहसचिव प्रेमप्रसाद भट्टराई ४ महिना बढी समयदेखि हल्लिरहेका छन्। सहसचिव सुरेन्द्र पौडेल पनि ३ महिनादेखि गृहको जगेडामै छन्। त्यस्तै सहसचिवहरू शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा र वासुदेव दाहाल २ महिनादेखि गृह मन्त्रालयको जगेडामा छन्। आचार्य सुर्खेत, पोखरेल पूर्वी नवलपरासी, सुवेदी बाग्लुङ, शर्मा पर्वत र दहाल सिरहाको सिडिओबाट फिर्ता बोलाइएका थिए। उनीहरू अहिले गृहको बरण्डामा हल्लिएर बसिरहेका छन्।

सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृहको बरण्डामा हल्लिएको २ महिना हुन लागेको छ। विवादित सहसचिवलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर उनीहरूलाई बरण्डामा थन्क्याइएको हो।

निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै लामो बिदामा बसेको र अन्यन्त्र काजमा खटिएको कारण पदाधिकारमा नरहेको अवस्थामा बाहेक २ महिनाभन्दा बढी जिम्मेवारी नदिई निजामती कर्मचारीलाई निष्क्रिय राख्न नपाइने प्रावधान रहेको छ। पदिय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था छ। तर, दुई महिनाभन्दा बढीदेखि सहसचिवलाई जिम्मेवारी नदिई राखेका गृहसचिव दुवाडीमाथि अहिलेसम्म विभागीय कारबाही भएको छैन। सुशासनको खिल्ली उडाउन गृहमन्त्री लेखक र सचिव दुवाडी अग्रसर देखिन्छन्।

सुशासन र कानुनी शासन भएको देश हुन्थ्यो भने २ महिना बढीदेखि कर्मचारी खटाउन नसक्ने गृहमन्त्री लेखक र सचिव दुवाडीको जिम्मेवारी खोसिसकिन्थ्यो। नेपाल भएरै होला कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसक्ने गृहमन्त्री लेखक र सचिव दुवाडी मज्जाले गृह प्रशासन चलाइरहेका छन्। भिजिट भिसा काण्ड मच्चिएर सहसचिव तानिनु उनीहरूलाई सामान्य कुरा हो। यो ‘टिम’ले सहसचिव भट्टराईलाई परिआएको खण्डमा महत्त्वपूर्ण जिम्मेवारी दिन पनि सक्छ। 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्