पर्यटन सचिव सिंह घर गए, अर्का सचिव पाण्डे पनि घर गएपछि को-को बन्ने भए सचिव ?

बिहीबार, वैशाख २५, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव विनोद प्रकाश सिंह घर गएका छन्। ५८ वर्ष पूरा भएका सिंहले बैशाख २४ गते जागिरे जीवनलाई बिसाएका हुन्। 

२०७९ असार ६ गते नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका सिंह करिब ३ वर्ष सचिवको भूमिकामा काम गरेर सरकारी सेवाबाट बिदा भएका हुन्। २०४३ सालमा नायब सुब्बा निजामती सेवामा प्रवेश गरेका सिंह ३८ वर्ष बिताएर घर गएका हुन्।

उनी कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, महालेखा नियन्त्रक हुँदै संस्कृति तथा पर्यटन मन्त्रालय पुगेका थिए।  ४ महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव भएर गएका सिंह पर्यटनबाटै घर गएका छन्।

त्यस्तै महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे पनि घर जान लागेका हुन्। बैशाख २९ गतेसम्म जागिर रहेका पाण्डे एक दिन अघि नै घर जाने तरखरमा छन्।  २७ गते शनिबार र २९ गते बुद्ध जयन्ती, उभौली पर्वको सार्वजनिक बिदा रहेकाले उनको जागिर बिहीबार शुक्रबार र आइतबार ३ दिन मात्र बाँकी छ।

२०७८ असार २० गते सचिवमा बढुवा भएका पाण्डे करिब ४ वर्ष सचिव भएर ५८ वर्ष पुगेपछि घर जान लागेका हुन्। दुई सचिव घर गएपछि दुई सचिव रिक्त हुने भएको छ। अब शोभाकान्त पौडेल, भुपाल बराल र डण्डूराज घिमिरे मध्ये बाटै सचिव बन्ने भएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्