सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका छन्।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकरात्मक भएको उल्लेख गरेका थिए।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,’ देउवाको भनाइ छ, ‘ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ। राष्ट्र बैंकभित्रकै समस्या हो।’
गठबन्धनमा कुनै समस्या नभएको भन्दै उनले भने, ‘अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ। उहाँले गठबन्धमा कुनै पनि समस्या क्रिएट गर्नुभएको नि छैन। गठबन्धनमा कुनै समस्या छैन।’
फरक प्रसंगमा उनले भारतले भन्दा पहिले नेपालले उदारीकरणको नीति सुरुवात गरेको भन्दै नेकपा एमाले र माओवादी केन्द्र पनि यही नीतिमा रहेको दाबी समेत गरे।
‘भारतमा उदारीकरणको नीति नहुँदा नेपालले सुरूवात गरेको हो,’ देउवाको भनाइ छ, ‘सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौँ, प्रचण्ड र ओलीजी पनि यही नीतिमा हुनुहुन्छ।’
उनले थपे, ‘सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो, सबै पार्टीहरू उदारीकरण आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ, तर सरकारीले काम गर्नै सकेको अवस्था छैन, दुवैलाई अगाडि बढाइरहेका छौँ।’
उनले जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरू पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै बनजंगल बचाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए।
‘ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ,’ देउवाको भनाइ छ, ‘शिक्षा, स्वास्थ्य एवं हवाई यातायातका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, समावेशी विकास र भेदभावको अन्त्य नेपाली कांग्रेसले नै गरेको हो।’
देउवाले जति नै ओलीको बचाउ गरे पनि गभर्नर नियुक्तिको किचलो ओली बाटै भएको हो। र, ओली नीलम ढुंगानालाई गभर्नर बनाउने परियोजनामै छन्। यता देउवाले भने गुणाकर भट्ट च्यापेका छन्।