सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । कम बोल्ने देउवा र बोल्या बोल्यै गर्ने ओली बीचको दुई घन्टे वार्तालाई अर्थपूर्ण रुपमा लिईएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी रहेका थिए । बैठकपछि गृह मन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबिच छलफल भएको जानकारी गराएका हुन् । मन्त्री लेखकका अनुसार दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।
भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू विषयमा छलफल भएको हो । यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।