शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले टर्च बालेरै ओली सरकार खोजे

मंगलबार, चैत २६, २०८१

शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको साङ्केतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । शिक्षक–कर्मचारीहरूले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीहरू परिचालन गरिएको छ । उनीहरूको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरूले यसअघि कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । आज उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्