कोशीमा आजै एमालेका कार्की मुख्यमन्त्री बन्दै, समाजवादीले किन खोज्यो भाउ ?

बिहीबार, वैशाख २७, २०८१

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। यो भए संगै दलहरु जुर्मुराएका छन्। 

    
कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताएका छन्।

बुधबार अबेर राति प्रदेश प्रमुख परशुराम खापुंगले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेसँगै गठबन्धन दलतर्फ एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्रीको लागि तयार भए। कार्की गएको डेढ वर्षीय प्रदेशसभाको दोस्रो संस्करणमा तेस्रोपटक मुख्यमन्त्री बन्नेतर्फ उन्मुख भएका हुन्।

उनले भने, ‘प्रदेश प्रमुखले आह्वान गरेअनुसार अब भरे ११ बजे हामी दाबी पेश गर्नेछौं। त्यसपछि प्रदेश प्रमुखले कहिले बोलाउनु हुनेछ। हामी सम्भवतः आज भरे बेलुकासम्म सथपग्रहणको तयारीमा छौं। सकेसम्म आजै सबै काम टुंग्याउने प्रयासमा छौं।’

दलका नेता कार्कीले सपथग्रहण पछि विश्वासको मत नलिउञ्जेल सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताए। उनले भने, ‘अहिले हामी ठूलो आकारमा जादैनौं। विश्वासको मतसम्म २ जनासम्मको शपथ ग्रहण हुनेछ। त्यसपछि मात्र हामी अघि बढ्नेछौं।’

नयाँ सरकारमा सानापनि समेटिने विषयमा उनले केन्द्रीय गठबन्धनअनुसार यहाँ पनि गठबन्धन हुनेमा जोड दिए। तर नेकपा एकीकृत समाजवादी पार्टी हिजोसम्म सरकारमा रहेको हुँदा केही समय लाग्न सक्ने उनको भनाइ छ।

एमाले दलका उपनेता रामबहादुर राना मगरले नयाँ सरकार गठनका लागि आह्वान भएसँगै माओवादी सांसदसहित ५२ जनाले मुख्यमन्त्रीको लागि कार्की नेतृत्वलाई अघि सार्दै बिहीबार दाबी गर्ने बताए।

उनले भने, ‘अहिले हामीलाई अघिल्लो सरकार हटाउने विषय सकसमा रहेको थियो। त्यो विषयले किनारा पाएको छ। अब नयाँ सरकारका लागि हामी दाबी गर्नेछौं। संभवतः भरे बेलुका वा शुक्रबार विहानभित्र हामी सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष पुग्नेछौं।’

केन्द्रीय समीकरणअनुसार अहिले माओवादी, एमालेको समीकरणमा सरकार निर्माण हुने बताउँदै उपनेता मगरले भने, ‘अहिले मुख्यमन्त्रीसहित सानो आकार, २ जनासम्मलाई प्रदेश प्रमुखसमक्ष सपथग्रहणको कार्यक्रम बन्नेछ। पहिले सानो आकार दिएर, पछि त्यसलाई विस्तार गर्दै लैजानेछौ। अहिले नै हामी पूर्ण भागवण्डाको विषयमा पुगिसकेका छैनौं।’

अहिलेको सत्ता गठबन्धनमा दुई दलमात्र सीमित हुने विषयमा उनले केन्द्रीय गठबन्धनअनुसार एकीकृत समाजवादी पार्टीले भाउ खोजेको देखिएको बताए।

रानाका अनुसार प्रदेशको सरकार गठनमा साना दलसँग पनि छलफल हुनेछ। संविधान सहज प्रदेशसभा सदस्यसहित सरकार गठन हुने हुँदा केन्द्रीय गठबन्धनमा कुनै समस्या नहुञ्जेल यहाँको सरकार लामो समयसम्म अघि बढ्ने बुझाइ उनकाे छ।

रानाले भने, ‘यहाँ हामी कम्फर्ट जोनमा छौं। केन्द्रीय गठबन्धनअनुसार नै हामी अघि बढ्छौं। यो सरकार लामो दौडको घोडा हुनेछ।’

गएको डेढ वर्षका प्रदेश सरकार छैटाैंपटक सरकार परिवर्तन हुँदा प्रदेशवासीमा पर्ने बुझाइबारेमा उनी प्रदेशसभामा पर्याप्त संख्या नहुँदा र राजनीतिक समीकरण फेरिरहँदा समस्या हुँदै आएको बताउँछन्। राजनीतिक रूपमा समेत प्रदेशमा गलत अभ्यास हुँदा समस्या देखा परेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्