के-के गरेर मनाईयो कानुन दिवस ?

बुधबार, वैशाख २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ का अवसरमा सर्वोच्च अदालतद्वारा अदालत परिसरमा आयोजित जलपान समारोहमा सरिक भए ।
     
त्यस अवसरमा त्यहाँ पुगेका पाहुनाहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गरे  । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकृत थिए ।

समारोहमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, सर्वोच्च बार एसोसिएनका अध्यक्ष तथा पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरु तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।   
    
 सो अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र ढकालले अतिथिहरुलाई स्वागत गर्दै जलपान समारोहमा सरिक हुन अनुरोध गरेका थिए। 
     
कानुन दिवसकै अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानवअधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न कानुन दिवसले सबैमा सकारात्मक सोच र भावना प्रदान गर्न सकोस् भनी  कामना गरेका छन्। 

“न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायपालिका मात्रको नभई यसका सबै सरोकारवालाको साझा चासो र सरोकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु”, उनको शुभकामना सन्देशमा भनिएको छ, “न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउनका लागि यसका सरोकारवाला निकायहरू महान्यायाधिवक्ताको कार्यालय एवं नेपाल बार एसोसिएसनलगायतका अन्य निकायहरूको समन्वय र सहकार्य सदैव आवश्यक र अपेक्षित रहन्छ ।”
     
उनले सरोकारवाला निकायहरूबाट प्राप्त हुँदै आएको सकारात्मक सहयोग र समन्वयको कारणले सबै तहका अदालतहरुमा विगतका वर्षहरूका तुलनामा यस वर्ष विशेषतः पुराना मुद्दाको फछ्र्योट बढी भएको तथ्याङ्कबाट देखिएको पनि सो सन्देशमा उल्लेख गरेका छन्। 
     
शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट पहुँचयोग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धतिको विकास गरी कानुनको शासनको प्रवद्र्धन गर्न आजको यस विशेष दिनले हामी सबैलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास मैले लिएको छु ।”
    
विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध हुँदै न्यायिक पद्धति र न्यायपालिकाको संस्थागत सुधारमार्फत नागरिकका हक अधिकारको संरक्षण गर्ने सन्दर्भमा कोसेढुङ्गाको रूपमा रहेको उक्त दिनको महत्व आज पनि उत्तिकै रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा वैशाख २६ गते कानुन दिवसका रूपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्