बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात बिहिबार नेपाल आईपुग्ने, घनघोर वर्षा हुने

सोमबार, कात्तिक ९, २०८३

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली अब शक्तिशाली चक्रवातमा परिणत भएको छ । यो चक्रवातको नाम ‘अर्नब’ राखिएको भारत मौसम विज्ञान विभागले जनाएको छ । अर्नब नाम बंगलादेशले प्रस्ताव गरेको हो ।

भारतीय मौसम विभागले सोमबार (कात्तिक ९) नेपाली समयानुसार बिहान ५ः३० बजे त्यो चक्रवातका रूपमा देखिएको पुष्टि गरेको पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले उल्लेख गरेका छन् । “अब यो प्रणालीले भोलि मंगलबार मध्यह्नतिर भारतको आन्ध्र प्रदेश र उडिसाको तटीय क्षेत्रमा धावा बोल्ने देखिन्छ,” उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उक्त क्षेत्रमा रहेका अरू साना वर्षा प्रणालीसँग मिसिँदै त्यो उत्तरतर्फ अर्थात् नेपालतिर बढ्ने उनले बताएका छन् । “बुधबार रातिसम्म नेपाल आइपुग्ने र बिहीबारदेखि वर्षा हुने कुरा नेपाल मौसम विज्ञान विभाग तथा जलवायु शाखाले पनि सूचित गरिसकेको छ,” उनले भनेका छन् ।

उक्त प्रणालीको प्रभावले नेपालमा पनि आउँदो बिहीबार (कात्तिक १२)देखि देशैभरि वर्षाको सम्भावना रहेको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरेका छन् । “देशैभरि वर्षा हुने देखिए पनि बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाऔँ,” मौसमविद् उपाध्यायले भनेका छन् ।

देशका केही स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको उनले जनाएका छन् । “चक्रवातको शक्ति र ऊर्जा देख्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात व्यापक हुने देखिन्छ । सुरक्षित बसौँ,” उनले लेखेका छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्