दशैंमा घर जाने यात्रुका लागि २३ असोजबाट टिकट बुकिङ खुला

मंगलबार, असोज २०, २०८३

यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही २३ असोजबाट टिकट बुकिङ खुला गरिएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए । 

उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराए । 

दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए । 

दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्